काठमाडौं ।
खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २-१ ले हरायो ।
खेल १-१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरेका थिए । यसअघि १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।
बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् । तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए ।
खेलको ७४ औं मिनेटमा नवीन लामाको प्रहारलाई गोलरक्षकले पञ्च गर्दा फर्केको बललाई मनिषले जाली चुमाए पनि त्यो गोल अफ साइड भयो ।
आयुष घलानले प्लेयर अफ त टुर्नामेन्ट हुँदै ५०० डलर पुरस्कार पाएका छन् । फाइनलमा एक गोल गरेका आयुश भुटानविरुद्दको खेलमा प्लेयर अफ दि म्याच बनेका थिए।
नेपाललाई उपाधि दिलाउन निर्णायक गोल गरेका मनिष प्लेयर अफ द फाइनल भए र उनले २५० अमेरिकी डलर पुरस्कार पाए ।
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड आयुष घलानले घरेलु मैदानमा प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जित्दा खुशी लागेको बताएका छन् ।
शुक्रबार थ्री नेसन्स कपको उपाधि जितेपछि बोल्दै आयुषले उपाधि जितेकोमा खुशी रहेको बताए । लाओसविरुद्ध सुरुआतमा गोल गर्ने टिमको लक्ष्य भएपनि आफुहरु चुकेको उनले बताए ।
‘हाम्रो लक्ष्य पहिले गोल गर्ने थियो । सफल भएनौं । तर, हामीले गोल गर्यौं । हामीले फाइनलमा जित निकाल्यौं । त्यसैमा खुशी छौँ,’ घलानले भने । आयुषले फाइनलमा आफुले अन्य गोल गर्ने मौकामा चुकेको बताए ।
‘देशका लागि गोल गर्ने रहर कसलाई हुँदैन र । आज अझै गोल गर्न सक्थे । त्यो भएन,’ उनले थपे । आयुष फुटबलको माध्यमबाट आफ्नो भविष्य आफै बनाउनु पर्ने समेत बताए । उनले रोहित चन्द, किरण चेम्जोङ जस्ता खेलाडीबाट सिक्नुपर्ने बताए ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।