काठमाडौँ।
अहमदाबादमा खेलिएको आइपिएल २०२३ को पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्स (GT vs CSK) लाई ५ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो भने जवाफमा गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर १८२ रन बनायो।
इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औँ संस्करणको पहिलो दिनै हार्दिक पन्ड्या भाइरल भएका छन्। उनी गुजरात टाइटन्सको क्याप्टेन हुन्।
चेन्नइ सुपर किङग्स र गुजरात टाइटन्सविचको पहिलो खेल अगाडि भव्य उद्घाटन समारोहको आयोजना गरिएको थियो।
उद्घाटन समारोहको अन्त्यमा हार्दिक र चेन्नेइका कप्तान एमएस धोनीलाई अगाडि बोलाइएको थियो। हार्दिकले मञ्चमा रहेका जय शाह, अरुण धूमल अनि रोजर बिन्नीसँग हात मिलाए।
तर उनले धोनीसँग हात मिलाएनन् जबकि सबैभन्दा अगाडि धोनी नै उभिएका थिए। अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तर खेल प्रारम्भ अगाडि टस गर्ने बेलामा भने हार्दिकले मज्जाले धोनीको प्रशंसा गर्दै उनलाई आफ्नो मार्गदर्शक भएको बताएका थिए। आइपिएलको उद्घाटनमा अरजित सिंह, तमन्ना भाटिया र रश्मिका मन्दनाले प्रस्तुति दिएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको सुरुवात खराब रह्यो । १४ रनको स्कोरमा टोलीलाई पहिलो झटका लागेको थियो भने ओपनर डेभोन कोनवे १ रन बनाएर मोहम्मद शामीको शिकार बने ।
मोइन अलीले केही राम्रो शट खेले तर उनको इनिङ्स पनि २३ रनभन्दा माथि जान सकेनन् । बेन स्टोक्स खास केही गर्न सकेनन् र ७ रनको व्यक्तिगत स्कोरमा राशिद खानको शिकार बने ।
यहाँबाट ऋतुराज गायकवाड र अम्बाती रायुडुले स्कोर १२१ पुर्याए । रायुडुले १२ रन बनाए । गायकवाडले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ९२ रन बनाए । उनको इनिङ्समा चार चौका र नौ छक्का सामेल थिए।
रविन्द्र जडेजा मात्र १ रन बनाएर आउट भए । शिवम दुबेले १८ बल खेले पनि उनको ब्याटबाट १९ रन मात्रै निस्के । अन्तिममा, एमएस धोनीले केही ठूला शटहरू खेले र १४ रनमा अविजित रहे। गुजरात टाइटन्सका लागि मोहम्मद सामी, राशिद खान र अल्जारी जोसेफले २–२ विकेट लिए ।