काठमाडौं ।
नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा अमेरिकाले दोस्रो जित हात पारेको छ ।आफ्नो तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा अमेरिकाले युएईलाई ५ विकेटले पराजित गर्यो ।
नामिबियाको विन्डोकमा रहेको युनाइटेड मैदानमा युएईले दिएको २ सय ८० रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाका लागि साईतेजा मुकामल्लाले १ सय १४ बलमा १२ चौकाको सहयोगमा अविजित १ सय २० रनको शतकीय ईनिङ खेले ।एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका तेजाले १ सय ४ बलमा शतक पूरा गरेका थिए ।
मोनाक पटेलले ६१ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । सुशान्त मोदीनीले ३९ रन बनाँउदा गजानन्द सिंहले २३ रन बनाए । शायान जायनगरले २२ रन बनाए । युएईले १८ रन अतिरिक्तमा दिएको थियो ।
युएईका लागि जुनेद सिद्धिकीले ३ तथा आयान खान र मतिउल्लाह खान समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७९ रन बनाएको थियो ।
युएईका लागि आसिफ खानले ८४ बलमा ९ चौका तथा २ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले । वृत्य अरविन्दले ६८ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले ।
खान र अरबिन्दले ५ औं विकेटका लागि १ सय ५ रनको साझेदारी गरेका थिए । रोहन मुस्ताफाले ३८ रन बनाउँदा आर्यान लाक्राले २६ रन बनाए । जुनेद सिद्धिकि १६ रनमा अविजित रहँदा रमिज शाहजाद १५ रनमा आउट भए ।
अमेरिकाका लागि निर्सग पटेल र जसदिप सिंहले समान २/२ तथा सौरभ नेत्राभाल्कर र अलि खानले समान १/१ विकेट लिए ।तीन खेलमा दुई जित हात पारेको अमेरिका ४ अंकका साथ ६ राष्ट्र सहभागी प्रतियोगिताको तेस्रो स्थानमा कायमै रहेको छ ।
दोस्रो खेलमा पहिलो हार व्यहोरेको युएई भने चौथो स्थानमा कायमै रहेको छ । प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।
विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छ।