काठमाडौं ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ ।
नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो ।
नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । भुटानसँग १-१ गोलको बराबरी खेलेपछि बोल्दै कप्तान किरणले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।
‘पहिलो हाफमा केहि कमजोरी भयो । तालमेल मिलेन । मार्क नहुँदा गोल खायौं,’ खेलपछि उनले भने, ‘हामीले दोस्रो हाफमा राम्रो भयो । फाइनल पुगेको छौँ । फाइनलमा राम्रो गर्छौं ।’
किरणले भुटानविरुद्धको खेललाई खराब प्रदर्शन भन्न नमिल्ने बताए । ‘फुटबलमा गल्तिहरु हुन्छ । त्यसैमा सिक्दै जाने हो । यसलाई खराब प्रदर्शन भन्न मिल्दैन । गल्तीबाट सिक्ने हो । फुटबलमा कहिलेकाही यस्तो हुन्छ,’ उनले भने ।
कप्तान किरणले पहिलो हाफमा खेलाडीहरु ओभर कन्फिडेन्स हुँदा खेल बिग्रिएको बताए । जसलाई दोस्रो हाफमा सुधार गरेको उनले बताए ।
यसअघि, भुटानसँग खेलेका १२ खेलमा नेपालले शत प्रतिशत जित निकालेको थियो । भुटानविरूद्ध अपराजित रहेको नेपालले पहिलो पटक भुटानसँग बराबरी खेलेको हो ।
भुटानसँगको संघर्षपूर्ण बराबरीसँगै नेपालले फाईनलमा चैत्र १७ गते लाओसको सामना गर्नेछ । प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।