काठमाडौं
नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णयले सामाजिक सञ्जाल तातिएको छ।
क्यानले फेब्रुअरीमा हुने त्रिदेशीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप लामिछानेको नाम पनि समावेश गरेको थियो।
त्यसपछि बलात्कारको मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै क्यानले सन्दीपलाई समावेश गरेपछि सामाजिक सञ्जालमा अभियान सुरु भएको छ।
‘सरकार मौन । प्रतिपक्ष मौन । क्यान बलात्कार आरोपीको मतियार ! जनता भन्दैछन्, खबरदार ! भोलि १ बजे माइतीघर! #boycottCAN,’ एक ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्।
यद्यपि, धरौटीमा रिहा भएका सन्दीप धरौटी रकम धेरै भएको र उच्च अदालतले शर्त राखेको भन्दै सर्वोच्च जाने तयारीमा छन्। भदौमा गौशालाको एक होटलमा नाबालिग बलात्कारको आरोप लागेका सन्दीप उच्च अदालतको आदेशपछि पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।
सन्दीपलाई धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरोधमा सर्वोच्च अदालत जान लागेको सन्दीपतर्फका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिए।
‘हो, हामी सर्वोच्च अदालत जाने तयारीमा छौं। उच्च अदालतले सन्दीपलाई धेरै धरौटी रकम लिएको र विदेश जानबाट रोकेको छ, खेल्न पाउने एक खेलाडीको हैसियतमा उसको अधिकार हो, त्यसैले हामी सर्वोच्च जान लागेका हौं,’ उनले अन्नपूर्णसँग भने।
अदालतमा आफैँ हाजिर हुन आएका खेलाडीलाई खेल्न पाउने अधिकारबाट रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च जानुपरेको पनि व्यवसायी घिमिरेले बताए।
यद्यपि, भदौमा बलात्कारको मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएपछि एक महिना भागेका सन्दीप असोज २० गते नेपाल फर्किएका थिए। त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।