सेभेन थ्री स्पोर्ट्सले क्यानसँग करोडौ माग्यो फिर्ता

काठमाडौं ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–२० लिग आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)सँग रणनीतिक एवं व्यावसायिक साझेदारीका रुपमा गरेको सम्झौता भंग गरेको जनाएको छ ।

भारतीय कम्पनीले प्रतियोगिताका लागि नेपाल सरकारको सहमति प्राप्त नभएको कारण देखाउँदै क्यानलाई आज इमेलमार्फत सम्झैता भंग गरेको जनाएको हो ।

सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहलुवालियाले क्यानलाई पत्र पठाएर सम्झैता भंग भएको जानकारी पठाएको स्वीकार गरेका छन् । उनले भनेका छन्, “हामीले क्यानलाई सम्झैता भंग भएको पत्र पठाएको छौँ ।”

पुस ९ देखि २७ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना भएको नेपाल टी–२० लिगमा सुरुआतदेखि विभिन्न विवाद सिर्जना भएका थिए ।

प्रतियोगिताका दौरान खेलाडीले पारिश्रमिक नपाएको र स्पट फिक्सिङ भएको लगायतका विवाद बाहिर आएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फिक्सिङमा १० जना संलग्न रहेको बताएको छ । सीआईबीले दुई नेपाली खेलाडी पक्राउ पनि गरेको छ ।

सेभेन थ्री स्पोर्ट्सले क्यानसँग प्रतियोगिताको लाइसेन्सबापत दिएको एक करोड २० लाख रुपैयाँ फिर्ता गर्न माग गरेको छ । “उहाँहरुले हामीलाई मेल पठाउनु भएको छ । मेलमा प्रतियोगिताको लाइसेन्सबापत प्रदान गरिएको एक करोड २० लाख फिर्ता गर्न भनेर भनेको छ ।

हामी यो पत्रबारे विस्तृतमा अध्ययन गर्दै छौँ,” क्यान अध्यक्ष चतुरबहादुर चन्दले बाह्रखरीसँग भने । चन्दले गत बिहीबार पत्रकार सम्मेलन गर्दै सेभन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको बताएका थिए ।

क्यान पदाधिकारीले सम्झौता रद्द गर्ने प्रक्रियामा जाने पनि बताएका थिए । त्यसको पाँच दिनपछि सेभन थ्री स्पोर्ट्सले क्यानलाई सम्झौता भंग भएको पत्र पठाएको हो ।

क्यानले नेपाल टी–२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग आठ वर्षका लागि सम्झौता गरेको थियो । भारतीय कम्पनीले क्यानलाई आठ वर्षमा ३३ करोड रूपैयाँ दिने सम्झौता भएको थियो ।

सम्झैताअनुसार पहिलो वर्ष तीन करोड ९० लाख रुपैयाँ दिने भनिएको छ । तर, भारतीय कम्पनीले लाइसेन्स शुल्कबापत एक करोड २० लाख रूपैयाँमात्र क्यानलाई दिएको छ ।

क्यानले आज पोखरामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सेभेन थ्री स्पोर्ट्सँगको सम्झैताबारे छलफल गर्ने एजेन्डा पेस गरेको थियो । तर, क्यानका सात सदस्यले अध्यक्षलगायत कार्यसम्पादन समितिमा भएका पदाधिकारी र सदस्यको राजीनामा माग गर्दै बोर्ड बैठक बहिस्कार गरेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

हार्दिकको रिसको सिकार बने यी व्यक्ति, न्यूजिल्याण्डसँगको खेलपछि मच्चियो हंगामा, गुमाए जागिर

Tue Jan 31 , 2023
काठमाडौँ। भारत र न्यूजिल्याण्डबीचको टी–२० सिरिजको दोस्रो खेल लखनउको एकना क्रिकेट स्टेडियममा खेलिएको छ । यस खेलमा टीम इण्डियाले जित हात पारे पनि टिमका खेलाडीदेखि पूर्व दिग्गज क्रिकेटरले स्टेडियमको पिचप्रति असन्तुष्टि व्यक्त गर्दै यो खराब पिच हुन सक्ने बताए । खेलपछि निकै हंगामा मच्चियो। वास्तवमा, खेलपछि टीम इन्डियाका कप्तान हार्दिक […]

You May Like

error: