एक महिनाको बीचमा १२ एकदिवसीय खेल खेल्दै नेपाल

काठमाडौँ ।

फागुन महिना नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि महत्वपूर्ण महिना हुँदैछ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम तीन वटा त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले एक महिनाको बीचमा खेल्दैछ।

यही तीन वटा सिरिजले नेपालको लिग-२ स्थान निर्धारण हुनेछ र नेपालले फागुन २ गतेदेखि नेपालमा, फागुन १५ देखि युएईमा र फागुन २५ गतेदेखि नेपालमै गरी एक महिनामै तीन वटा सिरिज खेल्ने तालिका छ।

फागुन २ देखि ९ गते सम्म हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच खेल हुनेछ। यस्तै फागुन १५ देखि २२ गतेसम्म हुने सिरिजमा नेपाल, युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी फागुन २५ गते चैत २ सम्म हुने सिरिजमा नेपाल, पपुवा न्युगिनी र युएईबीच प्रतिस्पर्धा हुने तय छ।

तीन वटै सिरिजमा नेपालको तयारीको विषयमा आज पोखरामा हुने बोर्ड बैठकमा छलफल हुनेछ। लिग-२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं, आठौं र नवौं सिरिज खेल्न लागेको हो।

९ सिरिजमा ४-४ खेल गरी कुल ३६ खेल खेल्ने नेपालले अहिलेसम्म ६ सिरिजका २४ खेल खेलिसकेको छ। अब अन्तिम तीन सिरिजमा नेपालले १२ खेल खेल्नेछ। तीन सिरिजमा चार-चार खेल गरी नेपालले एक महिनामा कुल १२ एकदिवसीय खेल खेल्ने तालिका छ।

नेपालले एक महिनाको बीचमा पहिलो पटक १२ वटा एकदिवसीय खेल खेल्न लागेको हो। लिग-२ मा सहभागी ७ टिममध्ये नेपाल छैटौं स्थानमा छ। शीर्ष तीनभित्र परे नेपाल एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ भने शीर्ष तीन भित्र पर्न नसके प्लेअफ खेल्नुपर्नेछ।

सात टिममध्ये शीर्ष स्थानको स्कटल्यान्ड ग्लोबल छनोटमा पुगिसकेको छ भने अमेरिका र पपुवा न्युगिनी शीर्ष तीनभित्र नपर्ने पक्का भइसकेको छ। अमेरिका र पपुवा न्युगिनीले अफ प्लेअफ छनोट खेल्नु पर्नेछ।

लिगमा ३२ खेल खेलेको स्कटल्यान्ड ४६ अंकसहित शीर्ष स्थानमा छ। आफ्ना सबै ३६ खेल खेलेर ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा रहदा नामिबिया ३० खेलबाट ३७ अंक जोड्दै तेस्रो स्थानमा छ।

सबै ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। नेपाल २४ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा छ। अन्तिम स्थानको पपुवा न्युगिनीको २८ खेलबाट ५ अंक छ।

तीन वटा सिरिजका लागि नेपालको यही सातादेखि तयारी सुरू गरेको थियो। औपचारिक नियुक्ति पाइनसके पनि भारतका मेन्टी देसाईले नेपाली टिमको प्रशिक्षण गराइरहेका छन्।

एकदिवसीय मान्यता:
नेपालले सन् २०१८ मा पहिलोपटक एकदिवसीय क्रिकेट टिमको मान्यता पाएको थियो। सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेर नेपालले इतिहासमा पहिलोपटक एकदिवसीय टिमको मान्यता दिइयो।

नेपालको एकदिवसीय मान्यता सन् २०२२ सम्मका लागि भनिएको थियो। तर कोभिड-१९ कारण अन्तर्राष्ट्रिय क्रिकेटका खेल तालिका प्रभावित भएसँगै नेपाललाई सन् २०२३ को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता छ।

एकदिवसीय मान्यता पाएसँगै नेपालसहित सात देशले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्ने अवसर पाएका थिए। सन् २०२३ सम्म चल्ने यो सिरिजमा नेपालसहित प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्ने तालिका छ। जसमा ९ वटा त्रिकोणात्मक एकदिवसीय समावेश छन्।

लिग-२ आइसिसी क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगिता हो। लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन्। यी सातै देश एकदिवसीय मान्यता पाएका टिम हुन्।

लिग-२ विश्वकप छनोट मात्र नभएर एकदिवसीय टिमको अस्थायी मान्यता निर्धारण गर्ने प्रतियोगिता पनि हो। जारी लिग-२ सकिदा शीर्ष तीन टिम भित्र पर्न सक्ने टिमले अर्को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

लिग-२ को सातमध्ये पुछारका चार टिमको भने एकदिवसीय मान्यता धरापमा पर्नसक्छ। यद्यपी लिग-२ को पुछारका चार टिमलाई आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न एक अवसर बाँकी नै रहन्छ।

लिग-२ का ‍पुछारका चार टिम र आइसिसीको तेस्रो श्रेणीको लिग (आइसिसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टिमबीच क्वालिफायर प्लेअफ हुनेछ।

आइसिसीका अनुसार लिग-२ का चार र च्यालेन्ज लिगका दुई गरी कुल छ टिमले क्वालिफायर प्लेअफ खेल्नेछन्। जसमा शीर्ष चार टिमले एकदिवसीय मान्यतासहित लिग-२ मा स्थान पाउनेछन् भने पुछारका दुई टिमले च्यालेन्ज लिग खेल्नुपर्नेछ। -सेतोपाटि बाट साभार

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीप लामिछानेलाई पुन थुनामा राख्न सर्वोच्च अदालतमा निवेदन

Tue Jan 31 , 2023
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । ‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौं’, महान्यायाधिवक्ता कार्यालयका […]

You May Like

error: