काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) जितेका छन्।
खेल भावनालाई समर्थन गर्ने खेलाडी वा टोलीलाई मान्यता दिन आइसिसीले हरेक वर्ष आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्छ।
नेपालका विकेटकिपर आसिफलाई आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्रदान गर्ने बिहीबार सार्वजनिक गरिएको हो। आसिफ आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
एक वर्षअघि नै प्रशंसा बटुलेका थिए आसिफले:
१४ फेब्रुअरी २०२२ मा ओमानमा भएको टी-२० सिरिजको छैटौं खेलमा नेपाल र आयरल्यान्ड भिड्दै थिए। ओमानको अल अमेरतमा पहिलो इनिङ्ग्समा नेपालले आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेपछि आसिफको त्यतिबेला नै प्रशंसा भएको थियो।
१९ औं ओभरको दोस्रो बलमा नेपालका कमलसिंह ऐरीले बलिङ गरिरहेका थिए। सो बलमा रन लिने क्रममा ननस्ट्राइकमा रहेका ब्याट्सम्यान एन्डी म्याकब्राइन ऐरीसँग ठोक्किन पुगे।
त्यतिबेलासम्म नेपालका विकेटकिपर आसिफ शेखको हातमा बल पुगिसकेको थियो। उनले चाहेको भए म्याकब्राइनलाई आउट गर्न सक्थे। तर आउट गरेनन्। हातमा आएको बललाई भुइँमा झारिदिए।
यो दृष्य लगत्तै कमेन्टेटरले आसिफको खुलेरै प्रशंसा गरेका थिए। कमेन्टेटरले यो दृष्यलाई वर्षको आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड दिनु पर्ने समेत बताएका थिए।
आयरल्यान्डका ब्याट्सम्यानलाई रनआउट नगरेको विषयमा आसिफ भन्छन” ‘ब्याट्सम्यान आफ्नो लाइनमा कुदिरहको थियो। बलर त्यसलाई क्रस गरेर गयो। ब्याट्सम्यानको गल्ती पनि थिएन। बलरलाई गएर ठोक्कियो। त्यसैले गर्दा हामीले आउट गरेनौं,’ हाम्रो खेलकुदसँगको कुराकानीमा आसिफले भनेका थिए, ‘त्यो क्लियरली देखिरहेको थियो।
सन्दीप लामिछाने मेरो नजिक फिल्डिङ गर्दै थिए र साइडबाट पनि नगर-नगर भनिरहेका थिए। त्यसैले हामीले रनआउट गरेनौं। मैले त्यो क्षणमा त्यो निर्देशन पालना गरें।
खेलमा नेपालले उत्कृष्ट बलिङ गर्दै टेस्ट टिम आयरल्यान्डलाई १२७ रनमा समेटेको थियो। यद्यपी ब्याटिङ नचल्दा नेपालले आयरल्यान्डलाई हराएर इतिहास रच्ने मौका गुमायो। खेल हारे पनि नेपालले विश्व क्रिकेटको मन भने जित्यो।