काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानले पूर्व कप्तान सन्दीप लामिछाने अझै निलम्बनमा रहेका कारण प्रारम्भिक टिममा नपरेको स्पष्ट पारेको छ ।आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि क्यानले बोलाएका २८ जना खेलाडीको सूचिमा लामिछानेको नाम छैन ।
क्यानका सचिव प्रशान्त विक्रम मल्लले लामिछाने हालसम्म पनि क्यानको निलम्बनमा नै रहेका कारण उनको नाम प्रारम्भिक टोलीमा नराखेको बताएका छन् । उनले भने,‘सन्दीप जेल मुक्त भए पनि हालसम्म उनी एक निलम्बित खेलाडी हुन ।
उनको बारेमा हामीले सरकारी वकिलको कार्यलय राष्ट्रिय खेलकुद परिषद (राखेप) तथा महान्याधिवक्ताको कार्यलयमा राय सुझावको लागि पत्र पठाएका छौं । उताबाट आउने जवाफमा पर्खाइमा छौं’, मल्लले भने ।
सचिव मल्लका अनुसार १७ गते बस्ने क्यानको बोर्ड बैठकले सन्दीपको बारेमा निर्णय गर्नेछ । मल्लले भने, ‘उनले राष्ट्रिय टिमबाट खेल्न मिल्ने भन्ने निष्कर्ष सरकारी वकिल तथा राखेपबाट आएमा उनलाई प्रशिक्षणमा बोलाउँछौं ।’
उनका अनुसार राष्ट्रिय खेलकुद परिषदबाट कस्तो खालको राय सुझाव आउँछ सोही अनुसार बोर्ड बैठकले सन्दीपको बारेमा निर्णय गर्ने बताए । भने, ‘राखेपको सुझाव सकरात्मक आएको खण्डमा उनलाई निलम्बन फुकुवा गरि बन्द प्रशिक्षणमा बोलाउँछौं ।’
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी डाकेको छ ।क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजका लागि क्यानले खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो ।टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ ।यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।नामबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बन्द प्रशिक्षणमा रहेका नेपाली टोली –
कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिहं ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशी,विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा,किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सुर्य तामाङ,अबिनाश बोहोरा,विवेक यादव,भिम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,बिक्रम सोब,भुबन कार्की,अंकित सुवेदी