काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशमा हुने विभिन्न नकआउट फुटबल प्रतियोगिताको मिति स्वीकृत गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ ।
फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ ।
युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ ।
‘संगठनले यो प्रतियोगितालाई आफ्नो मुख्य कार्यक्रमका रुपमा स्थापित गर्ने प्रयास गरेको छ,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो संगठनको संस्थापक र भएका नेताहरुमा खेलकुदप्रति चासो र रुची राख्ने भएकाले पार्टी अध्यक्षकै नाममा प्रतियोगिता गर्न लागेका हौं ।’
मिति अनुसार राजर्षि जनक गोल्डकप र मेयर कप फुटबल प्रतियोगिता सर्लाही र महोत्तरी जिल्लामा क्रमशः माघ २६ र फागुन ६ गतेसम्म हुने भएको छ।
भने प्रतियोगिता मकवानपुरमा माग २९ देखि फागुन ९ गतेसम्म मकवानपुर गोल्डकप हुनेछ । भद्रपुर गोल्डकप झापाको भद्रपुरमा हुनेछ भने तिलोत्तमा गोल्डकप रुपन्देहीमा फागुन ६ देखि १६ गतेसम्म हुनेछ ।
सुनसरीमा बुढासुब्बा गोल्डकप फागुन १३ देखि चैत ४ देखि १४ गतेसम्म इलाममा माईभ्याली गोल्डकप र चैत ४ देखि चैत १४ गतेसम्म इटहरीमा हुने इटहरी गोल्डकप स्वीकृत भएको छ ।
मोरङमा हुने विराट गोल्डकप र बारामा सिमरा गोल्डकपको फाइनल नकआउट प्रतियोगिता चैत ९ देखि अप्रिल १८ सम्म हुनेछ ।