काठमाडौँ ।
भारतीय टोलीका युवा ब्याट्सम्यान शुभमन गिलले पछिल्लो एक वर्षमा एकदिवसीय क्रिकेटमा धमाकेदार प्रदर्शन गरेका छन् र हरेक इनिङ्सपछि राम्रो निरन्तरताका साथ रन बनाइरहेका छन् ।
यो युवा ब्याट्सम्यानले आफ्नो ब्याटिङले रेकर्ड तोड्न थालेको छ र यस्तै केहि देखियो न्युजिल्याण्ड बिरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा ।
यस खेलमा गिलले सुरुदेखि नै आक्रामक मनोवृत्ति अपनाउँदै ठूलो कीर्तिमान आफ्नो नाममा बनाएका थिए । शुभमन गिल न्युजिल्याण्ड विरुद्धको एकदिवसीय शृङ्खलाका तीनवटै खेल खेलेका छन् र तीन खेलको द्विपक्षीय एकदिवसीय शृङ्खलामा सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यान बनेका छन् ।
उनले यस वर्षको सुरुमा श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खलामा २८३ रन बनाएका भारतका पूर्व कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन्।
त्यो शृङ्खलाको पहिलो एकदिवसीयमा विराटले ११३ रन बनाएका थिए र आफ्नो करियरको ४५ औं शतक बनाएका थिए। तर, उनले अर्को खेलमा ४ रन मात्र बनाउन सके पनि फाइनल खेलमा १६६ रनको अपराजित इनिङ खेल्दै शृङ्खला बलियो ढंगले समाप्त गर्दै तीन द्विपक्षीय एकदिवसीय शृंखलामा सर्वाधिक रन बनाउने भारतीय कीर्तिमान बनाए ।
शुभमन गिलले तोडे विराट कोहलीको कीर्तिमान:
शुभमन गिलले न्युजिल्याण्ड विरुद्धको तीन एकदिवसीय शृंखलाको पहिलो एकदिवसीयमा उत्कृष्ट दोहोरो शतक प्रहार गर्दै २०८ रन बनाएका थिए । यसपछि अर्को खेलमा उनले अविजित ४० रन बनाएर भारतलाई जित दिलाए ।
फाइनल खेलअघि, विराट कोहलीको कीर्तिमान तोड्न गिललाई ३६ रन मात्र आवश्यक थियो र उनले भारतीय इनिङ्सको नवौं ओभरसम्म आवश्यक रन बनाएका थिए। यसबाहेक उनी तीन खेलको द्विपक्षीय एकदिवसीय सिरिजमा ३०० भन्दा बढी रन बनाउने पहिलो भारतीय बनेका छन्।