काठमाडौं ।
‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् । नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा यसअघि दुई क्रिकेटर पक्राउ परिसकेका छन् ।
अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद राष्ट्रिय टोलीका सदस्य समेत हुन् । उनले पछिल्लो समय राष्ट्रिय टोलीबाट ओपनिङ गर्दै आएका थिए । सुदूरपश्चिम प्रदेशका उनले नेपालबाट एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेलिसकेका छन् ।
“अर्जुनमाथि सीआईबीले अनुसन्धान थालेको हामीलाई जानकारी छ । तर, उहाँलाई पक्राउ गरे/नगरेको, अभियोग लगाए/नलगाएको जानकारी छैन,” क्यान उच्च स्रोतले बाह्रखरीसित भन्यो, “उहाँको भूमिका शंकास्पद देखिएको थियो भनेर हामीलाई प्रहरीले जानकारी गराएको थियो ।”
प्रतियोगिता जारी रहेकै बेला क्रिकेटर ज्ञानेन्द्र मल्लले फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायत विभिन्न निकायले अनुसन्धान थालेका थिए । सीआईबीको अनुसन्धानमा खेलाडी र विभिन्न क्लबको व्यवस्थापकीय भूमिकामा रहेका १० जनाको स्पट फिक्सिङमा प्रत्यक्ष संलग्नता देखिएको खुलेको छ ।
फिक्सिङका योजनाकार जितिन
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार फिक्सिङका मुख्य योजनाकार जितिन आलुवालिया हुन् । उनकै योजनाका मेहबुब आलममार्फत खेलाडी र विभिन्न टोलीका व्यवस्थापकीय जिम्मेवारीमा रहेकाहरूलाई फिक्सिङको प्रस्ताव गरिएको थियो ।
जितिन भारतीय नागरिक हुन् । उनी भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका मालिक हुन् । लिगको आठ वर्षसम्मको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा सेभेन थ्री स्पोर्ट्सले पाएको थियो ।
उनै जितिनमार्फत मेहबुब आलमले फिक्सिङको प्रस्ताव स्वीकार गरेका थिए । जितिन प्रतियोगिता चलेकै बेला भारत भागेका थिए । सीआईबीले उनलाई नै मुख्य योजनाकार बनाउँदै प्रतिवादी बनाउने तयारी गरेको छ ।
१० लाखसम्मको प्रस्ताव
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार स्पट फिक्सिङ स्वीकार गरेका खेलाडीलाई बढीमा १० लाख रुपैयाँसम्मको प्रस्ताव आएको थियो । बलिङ, ब्याटिङमा फिक्सिङ गराइएको थियो ।
पक्राउ परेका अन्सारीले बलिङ गर्ने क्रममा ‘नो बल’ फालेका थिए । उनको सिधा सम्पर्क जितिनसँग देखिएको छ । अन्सारीबाहेक वेस्ट इन्डिजका केही खेलाडीले समेत फिक्सिङमा संलग्न रहेको पाइएको छ ।
उनीहरूमाथि प्रतियोगिता चलेकै बेला शंका गरिएको थियो । त्यसपछि अधिकांश वेस्ट इन्डिजका खेलाडीलाई अरू खेलमा रोक लगाइएको थियो ।
प्रतिवेदन सार्वजनिक नगरिने
सीआइबीले अनुसन्धानबारे आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । तत्काल अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक नगरिने भएको छ ।फिक्सिङबारे सीआईबी र आईसीसीले छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका छन् ।
दुवै प्रतिवेदन आपसमा मेल खाएको सीआईबीका अधिकारीहरू बताउँछन् ।प्रहरीका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “प्रतिवेदनकै आधारमा हामी मुद्दा चलाउँछौँ । त्यसैले तत्काल प्रतिवेदन सार्वजनिक गर्दैनौँ । अन्य कुराहरू भन्न सक्छौँ ।”