काठमाडौं ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे ।उनले खेलको २९ औं,३४ औं,४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए ।यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन् ।
एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।
यता इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फुलहमलाई हराएको छ ।सोमबार राति भएको खेलमा टोटेनहमले फुलहमलाई १-० गोल अन्तरले हराएको हो ।
टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।केनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।टोटेनहमका लागि केनको यो २६६ औं गोल हो ।
केनले टोटेनहमका लागि सर्वाधिक गोल गर्ने जिम्मी ग्रेभ्सको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।जितसँगै टोटेनहमले २१ खेलमा ३६ अंक जोडेको छ ।टोटेनहम पाँचौं स्थानमा रहेको छ ।फुलहम ३१ अंक जोडे सातौं स्थानमा रहेको छ ।