आदिल आलामको करिअर सुरुवात नहुँदै अन्त्य हुने जोखिममा !

Photo credit: Hamrokhelkud.com

काठमाडाैँ ।

मोहम्मद आदिल आलामलाई नेपाली राष्ट्रिय टिममा देखिएको धेरै भएको छैन। १९ वर्षीय आदिलका लागि राष्ट्रिय टिमको ढोका खुलेको केवल ७ महिना मात्रै भएको छ। तर आफ्नो करिअरको सुरुवातमानै आदिल लामो यात्रा तय गर्ने आकलन गरिएको थियो।

तर, किशोर आदिल ‘स्पट फिक्सिङ’मा पक्राउ परेसँगै करिअर राम्रो सुरुवात नहुँदै अन्त्य हुने जोखिम बढेको छ।

यदि उनी दोषी ठहर भएमा कानुनी कारबाही त हुन्छ नै साथमा युवा अवस्थामानै क्रिकेट करिअरको समेत अन्त्य हुने सम्भावना रहनेछ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा युवा अलराउन्डर मोहम्मद आदिल आलमलाई पक्राउ गरेसँगै युवा खेलाडी आदिलको करिअर ‘प्रलोभन’ को लोभले अनिश्चित बनेको हो।

आदिल नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। आदिलले उक्त प्रतियोगितामा कुल ४३ रन बनाउँदा ४ विकेट लिएका थिए। सिआईबीले दुई साता लामो अनुसन्धानपछि आदिललाई मेहबुब आलमसँगै पक्राउ गरेको थियो।

आदिललाई नेपाली क्रिकेटमा ‘डेब्यू’ खेलमै नेपालका लागि राम्रो ‘फिनिसरुको अभाव टार्ने खेलाडीको रुपमा हेरिएको थियो। तर उनले लामो अन्तराष्ट्रिय करिअर बेगरनै गम्भीर अपराधको भागिदार बन्ने सम्भावना बढेको छ।

आदिलले सन् २०२२ मा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ का क्रममा अमेरिका भ्रमणमा रहँदा नेपाली टिमबाट ‘डेब्यु’ गरेका थिए। उनले अमेरिका विरुद्धको भ्रमण बराबरी गराउँदै अङ्क खोस्दा निर्णायक ओभर बलिङ गरेका थिए।

जहाँ उनले अमेरिकालाई ६ रन चाहिएको अवस्थामा पाँच रन मात्र दिएर खेल बराबरी गरेका थिए। हारनजिक रहेको नेपाललाई एक अंक दिलाएका आदिल सबैको नजरमा परेका थिए।

आदिलले अमेरिकाविरुद्धको यो खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। कप्तान सन्दीप लामिछानेले उनलाई ‘डेब्यु’ क्याप थमाएका थिए। अन्तरराष्ट्रिय क्रिकेट करिअरको छोटो अवधिमा उनले ६ एकदिवसीय र ८ टी–२० खेले जहाँ उनले एकदिवसीयमा ७० रन बनाउँदा टी–२० मा १ सय १० रन प्रहार गरेका छन्।

त्यस्तै एकदिवसीय तर्फ ६ तथा टी–२० तर्फ ५ विकेट लिंदै आफूलाई राम्रो अलराउन्डरको रुपमा विकास गराउने प्रयासमा रहेका थिए। तर आदिल खराब ब्यक्तिको प्रलोभनमा पर्दा करिअरमा ‘टेकअफ’ लिन नपाउँदै क्र्यास हुने जोखिममा पुगेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

फूटबलकै इतिहासमा पहिलोपटक रेफ्रीले देखाए सेतो कार्ड (भिडियो सहित)

Mon Jan 23 , 2023
काठमाडौँ । पोर्चुगलमा भएको एक फूटबल खेलमा रेफ्रीले सेतो कार्ड देखाएका छन् । फूटबल मैदानमा रातो र पहेंलो कार्ड देखाइने गरेको कुनै नौलो कुरा हैन । तर पोर्चुगलले सेतो कार्ड देखाउने नियम पनि ल्याएको छ । सेतो कार्ड चाहिँ फेयर प्लेलाई प्रोत्साहन गर्नका लागि देखाइएको हो । स्पोर्टिङ लिस्बन र […]

You May Like

error: