काठमाण्डौ।
साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले जित निकालेको छ ।आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १-० गोल अन्तरले हराएको हो ।
रोनाल्डोले लिगमा डेब्यु गरेको खेलमा नसरका लागि टालिस्काले निर्णायक गोल गरे ।टालिस्काले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ ।नसर शीर्ष स्थानमा रहेको छ ।इत्तिफाग १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
यता दक्षिण एसियाली राष्ट्र श्रीलंकालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शनिबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिवन्ध लगाएको छ ।
फिफा, एएफसी र देशकै खेलकुद मन्त्रालयको निर्देशनलाई अटेर गर्दै संघको निर्वाचन गर्न असमर्थ हुनु र श्रीलंकाको फुटबललाई चलायमान बनाउन नसकेकै कारण श्रीलंका फुटबल फेडरेशनलाई फिफाले प्रतिवन्ध लगाएको हो ।
यो प्रतिवन्धसँगै श्रीलंकाले फिफाबाट पाउने सबै किसिको अधिकारबाट पनि बञ्चित भएको छ । साथै श्रीलंकाको राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा समेत सहभागिता जनाउन नपाउने निश्चित भएको छ ।
स्मरण रहोस, फिफाले श्रीलंका एफएलाई सन् २०१५ मै संघको विधान संशोधन गर्न पत्राचार गरेको थियो । साथै आफ्नो कार्यकाल सकिएर पनि आफै कार्यकाल थपी संघको नेतृत्वमा बसेका तत्कालिन अध्यक्ष जसवार उमरलाई फिफाले गत जुन महिनामा तीन महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।
उता निर्वाचन र साधारणसभा गर्न नसकेकै कारण श्रीलंकाको खेलकुद मन्त्रालयले पनि फेडरेशनमा हस्तक्षेप गरेपछि फिफा थप असन्तुष्ट बनेको थियो । फलस्वरुप फिफाले शनिबार श्रीलंकन फुटबलमाथि प्रतिवन्ध लगाउने कठोर निर्णय बाध्य बनेको हो ।
आर्थिक मन्दनीको मारमा परेर जिर्ण बनेको श्रीलंकाको फुटबलमाथि फिफाले लगाएको यो प्रतिवन्धसँगै देशको फुटबल र खेलाडीहरुको भविष्य थप जटिल बन्ने देखिएको छ ।