काठमाडौं ।
रोनाल्डो अल नासरमा आवद्ध भएपछि आज मात्र साउदी लिगमा डेभ्यु गर्ने भएका हुन् ।
अल नासरले आज साउदी क्लब एट्टीफाकको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति सवा ११ बजे हुने तालिका रहेको छ । अल नासरले रोनाल्डोले आजको खेलबाट क्लबका लागि डेभ्यु गर्ने जानकारी दिएको छ ।
साउदी लिगमा अल नासर १३ खेलमा ९ जित, ३ बराबरी र एक हारसहित ३० अंकका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै एक खेल बढी खेलेको अल इट्टीहाद १४ खेलमा ३१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
रोनाल्डो यसअघि इङल्याण्ड फुटबल फेडेरेसनले लगाएको दुई खेलको प्रतिबन्धका कारण खेल्न सकेका थिएनन् । तर उनले रियादमा पिएसजीविरुद्ध अल नासर र अल हिलालको संयुक्त टिमबाट भने खेलेका थिए । सो खेल पिएसजीले ५-४ ले जितेपनि रोनाल्डोले दुई गोल गर्दै खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
रोनाल्डो साउदी अरबको लिगमा गएपछि यसको चर्चा पनि चुलिएको छ । अहिले विश्वभर साउदी लिगको कुरा हुन थालेको छ । रोनाल्डोको आगमनले साउदी फुटबललाई विश्वभर चिनाउने देखिएको छ । यस अघि चर्चा नै नहुने साउदी लिगको अहिले सबैतिर चर्चा भइरहेको छ ।
साथै अल नासरले पनि रोनाल्डो भित्र्याएको सकारात्मक असर देखिरहेको छ । स्टेडियममा दर्शक हाउस फुल हुन शुरु भएको छ भने सामाजिक सञ्जाल एकाउन्टमा हजारौं गुणाले फलोअर बढेका छन् ।
उदाहरणको लागि अल नासरको इन्स्टाग्राम एकाउन्टमा रोनाल्डो जानु अघि साढे ६ लाख मात्र फलोअर थिए भने अहिले सम्म एक करोड ३४ लाखभन्दा बढी भइसकेका छन् ।