काठमाडौँ ।
क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोली हिअर’ राखेका छन् ।राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् ।
सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।
बलात्कार आरोप लागेर धरौटीमा थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउन नेपाल क्रिकेट संघ (क्यान) ले थालेको परामर्शले विभिन्न प्रश्न जन्माएको छ । उच्च अदालतको आदेशबमोजिम लामिछाने थुनामुक्त भएका त छन् तर उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने मागसहित सरकारी वकिल सर्वोच्च अदालत जाने विकल्प खुलै छ । उच्चले उनलाई सफाइ दिएको पनि होइन, त्यसको निर्क्योल जिल्ला अदालतले गर्दै छ ।
फागुनमा नेपालले आइसिसी विश्वकप लिग–२ शृंखलाअन्तर्गत स्कटल्यान्ड र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल लिगको अंक तालिकामा १८ अंकका साथ छैटौँ स्थानमा छ ।
क्यानले स्कटल्यान्ड र नामिबियाविरुद्धको खेलका लागि केही दिनभित्र क्लोज क्याम्प सुरु गर्दै छ ।सो क्लोज क्याम्पमा सन्दीपलाई समावेश गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिएका थिए।
‘एक वा दुई दिनभित्र हामी क्लोज क्याम्प सुरु गर्दै छौँ, क्याम्पमा सन्दीप पनि समावेश हुनेछन्,’ मल्लले भने, ‘त्यहाँ गरेको प्रदर्शनअनुसार नेपाली टोलीको घोषणा हुनेछ ।’उनले भनेका थिए।
पाटनको उच्च अदालतले गत साता बलात्कार आरोप खेपिरहेका सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न फैसला दिएको थियो । धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टोलीमा समावेश हुने वा नहुने प्रश्न उब्जिएको छ ।
उच्च अदालतको फैसला आएको दिन क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई राष्ट्रिय टोलीमा हुनुपर्ने खेलाडीका रूपमा जनाएका थिए । ‘सन्दीप फिट छन् वा छैनन्, त्यसमा निर्भर पर्छ,’ चन्दले भनेका थिए, ‘हामी सन्दीपलाई टोलीमा राख्छौँ ।’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन्दीपलाई राष्ट्रिय टोली वा क्लोज क्याम्पमा समावेश गर्न केही बाधा नगर्ने क्यानका कार्यवाहक सचिव मल्लले बताएका थिए।
तर अब सन्दीपको आजको पोस्ट ले सबैलाई अचम्म बनाएको छ।उनी क्रिकेटमा फर्किने सम्भावना कम बन्दै गएको देखिएको छ।