काठमाण्डौ।
नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि प्रशिक्षक खोजिमा रहेको छ । केन्यामा भएको विश्व लिग २ मा नेपाली टिमले खराब प्रदर्शन गरेपछि नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले जिम्मेवारी छाडेरका गएका थिए ।
काठमाडौंमा क्यानका पदाधिकारीसँग सामान्य छलफल गएर भारत फर्किएका प्रभाकरले उतैबाट राजिनामा पठाएका थिए । उनको राजिनामा क्यानले स्वीकृत गरेर नयाँ प्रशिक्षकका छनोटका लागि प्रक्रिया अघि बढाएको हो । आइतबार (हिजो)सम्मको समय दिएर आवेदन माग गरेको थियो ।
निर्धारित समयमा ३५ जनाले आवेदन दिएका छन् । जसमा एउटा नाम भने आश्चर्यजनकरुपमा आएको क्यान निकट स्रोतले जनाएको छ ।यसअघि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका देव ह्वाटमोरले पनि आवदेन दिएका छन् ।
सन् २०२० को डिसेम्बरमा नेपाली टिमको नेतृत्व सम्हाल्न आएका ह्वाटमोरले ९ महिनामै नेपाली टिमको नेतृत्व छाडेका थिए । ओमान टुरमा नेपाली टिम रहेका बेला उतैबाट राजिनमा दिएर उनी घरायसी कारण भन्दै नेपाली टिम स्वदेश फर्कदा उनी उतै रहेका थिए ।
ह्वाटमोरले फेरि नेपाल आउने इच्छा देखाउँदै आवेदन दिएपछि आफूहरु उत्साहित रहेको क्यान स्रोतले जनाएको छ । यसैगरी नेपाली टिमको जिम्मेवारी लिनका लागि मोन्टी देशाईले पनि आवेदन दिएका छन् ।उनी यसअघि नेपाली टिमसँग जोडिएका व्यक्ति हुन् ।
नेपालले २०१४ को टी २० विश्वकप खेल्दा देसाई नेपाली टिमसँग रहेका थिए ।सन् २०१७ को यु १९ एसिया कपमा भारतलाई नेपालले १९ रनले पराजित गर्दा देसाई नेपालका ब्याटिङ प्रशिक्षक रहेका थिए ।
मोन्टीको प्रशिक्षणमा वेस्टइन्डिज र अफगानिस्तानले सफलता हात पारेका छन् भने युएईमा पनि उनले काम गरेका छन् ।मोन्टीले इन्डियन प्रिमियर लिग आईपीएलको पनि अनुभव सम्हालिसकेका छन् ।
यसैगरी दिनेश मोंगियाले पनि आवेदन दिएको बुझिएको छ । भारतीय टिमबाट सन् २००१ मा डेब्यु गरेका ब्याटिङ अलराउन्डर दिनेशले २००७ मा खेल जीवन छाडेका थिए ।
उनी अहिले अरुणाचल क्रिकेट एशोसिएशनको मुख्य प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् ।यसैगरी २०१९ मा सक्रिय क्रिकेट छाडेका ४० वर्षिय श्रीलंकन पूर्व क्रिकेटर जीवन मेन्डिसले पनि नेपाली टिमको प्रशिक्षक बन्न आवदेन दिएको बुझिएको छ ।
अलराउण्डर मेन्डिससँग थुप्रै फ्रेन्चाइज लिग खेलेको अनुभव रहेको छ ।उनी अहिले एकेडेमी सञ्चालन गरेर बसेका छन् । प्रशिक्षकका लागि आवेदन दिने समय सकिएकाे र अब चाँडै प्रकृया पुरा गरेर नियुक्त गर्ने क्यानले तयारी गरेकाे छ ।
नेपाली टिम अहिले आईसीसी विश्वकप लिग टूको तयारीमा रहेको छ ।नेपाली टिमको एकदिवसीय मान्यता कायमै राख्नका लागि पनि अबका सिरिज जित्नै पर्ने दवाव रहेको छ ।
विश्व लिग २ मा नेपाल २४ खेलमा आठमा जित निकालेको छ ।नेपालले १४ खेलमा पराजित हुँदा एक खेल बराबरी र एक खेलमा नतिजाविहिन हुँदै अंक बाडेको छ ।नेपालको १८ अंकका साथ छैटौं स्थानमा रहेको छ ।
३२ खेलबाट स्कटल्याण्डको ४६ अंकसहित पहिलो स्थानमा रहेको छ भने ओमानले सबै ३६ खेल खेल्दै ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।तेस्रो स्थानमा रहेको नामिबियाको ३७ अंक, सबै ३६ खेल खेलेको अमेरिका ३५ अंक सहित चौथो स्थानमा छ ।
युएईले २६ खेलमा २७ अंकसहित पाँचौ स्थानमा छ भने ५ अंक जोडेको पपुवा न्युगिनि तालिकाको पुच्छारमा रहेको छ ।