काठमाडौँ।
यसै वर्षबाट सुरु हुन लागेको महिला इन्डियन प्रिमियर लिग (आईपीएल) मिडिया राईट्स भायोकम १८ ले खरिद गरेको छ। मुम्बईमा भएको अक्सनमा भायोकमले मिडिया राईट्स खरिद गर्न सफल भयो।
कम्पनीले टिभी र डिजिटल दुबै राइट खरिद गरेको हो। कम्पनीले यसका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई ९ सय ५१ करोड भारतीय रुपैयाँ अर्थात १५२१.६ नेपाली रुपैया दिनेछ। यसको अर्थ महिला आईपीएलको एक खेलको मूल्य ७.०९ करोड भारतीय रुपैयाँ हुनेछ।
आठ कम्पनीले लिलामीमा भाग लिनका लागि टेन्डर डकुमेन्ट्स खरिद गरे पनि दुई कम्पनीले मात्र बोली लगाएका थिए। भायोकम १८ सँगै डिज्नी स्टारले मिडिया राईट्स खरिदको दौडमा रहेका थिए। जसमा सर्वाधिक बोली लगाएको भायोकम १८ ले मिडियाराईट्सको अधिकार पाएको हो।
महिला आईपीएलमा ५ टिम सहभागी हुँदैछन्। टिमको नाम र शहरका बारेमा २५ जनवरीमा जानकारी गराइने जनाइएको छ। फेब्रुअरीमा खेलाडीको अक्सन हुने कार्यतालिका रहेको छ।
वुमेन्स आईपीएलको पहिलो सिजन यसै वर्षको मार्चमा हुँदै छ। लिगका खेलहरु भारतका छुट्टाछुट्टै दुई स्थानमा हुने जनाइएको छ। महिला आईपीएलको ८० प्रतिशत मिडिया राईइट्स ५ टिमलाई रेभेन्युका रुपमा दिइने छ।
बीसीसीआईले स्पष्ट रुपमा पाँच वर्ष कमर्सियन रेभेन्युको ८० प्रतिशत टिमलाई दिने जनाएको छ। त्यसपछिको ५ वर्ष ६० प्रतिशत र त्यसपछि ५० प्रतिशत टिमले रेभेन्युबापत पाउने छन्।
यसअघि पुरुष आईपीएलको मिडिया राईट्स भने ४८ हजार ३ सय ९० करोड भारतीय रुपैयाँमा किनबेच भएको थियो। २०२३ देखि २०२७ सम्मको लागि डिज्नी स्टारले भारतीय महाद्वीपको टिभी राइट्स २३ हजार ५ सय ७५ करोड भारतीय रुपैयामा खरिद गर्दा भायोकमले डिजिटल राइट्स २० हजार ५०० करोड भारुमा खरिद गरेको थियो।