काठमाण्डु।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालका लागि सातौं त्रिकोणात्मक शृंखलाको खेलतालिका सार्वजनिक भएको छ ।
नेपाल, नामिविया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला त्रिवि क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म सन्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।
शृंखलामा सबै टिमले ४–४ खेल खेल्नेछन् । नेपालले फागुन २ गते नामिविया, फागुन ५ गते स्कटल्याण्ड, ६ गते पुनः नामिविया र ९ गते पुनः स्कटल्याण्डसँग खेल्ने तालिका छ ।
नेपालले यसअघि गत मंसिरमा स्कटल्याण्डमा यही टिमहरुसँग त्रिकोणात्मक शृंखला खेलेको थियो । नेपाल तीन खेलमा पराजित भएको थियो भने एक खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।
सात टिम सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले अहिलेसम्म २४ खेल खेल्दा १८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । अर्को वर्ष भारतमा हुने एकदिवशीय विश्वकपको छनोट प्रतियोगिता खेल्न यो लिगमा शीर्ष तीनभित्र रहनुपर्छ ।
शीर्ष तीनभित्र पर्ने नेपालको सम्भावना लगभग सकिएको छ । त्यसका लागि नेपालले बाँकी १२ खेल जितेरमात्र हुँदैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
लिगको शीर्ष ५ मा परेमा नेपालले एकदिवशीय मान्यता जोगिने सम्भावना रहन्छ । त्यसका लागि घरेलु मैदानमा हुन लागेको यो शृंखलामा नेपालले अधिकतम खेल जित्नुपर्ने चुनौति छ ।
यो पनि : नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने !
नेपाली राष्ट्रिय महिला टिमले अर्को महिना भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले मैत्रीपूर्ण खेलका लागि भारतले पठाएको प्रस्ताव स्वीकार गरेको हो ।
एन्फाका अनुसार भारतले फेब्रुअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव पठाएको छ । नेपाली महिला टिमले भदौमा घरेलु मैदानमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भारतलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई पराजित गरेको यो नै पहिलोपटक थियो । यद्यपि, नेपाल फाइनलमा भने बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।