काठमाडौं ।
ब’ला’त्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
एक नाबालिकालाई ब’ला’त्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
तर सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी परेको थियो ।
धरौटीमा रिहा भएपनि लामिछानेलाई विभिन्न शर्त राखिएको छ। यस्तै लामिछाने अनुमतिबिना विदेश जान नपाउने भएका छन्। अन्य शर्तसहित २० पेज लामो आदेश उच्च अदालतले गरेको छ।
बला’त्कार आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत पाटनले चार वटा अवस्थामा आफ्नो आदेश निष्क्रिय हुनसक्ने बताएको छ ।
उच्च अदालतले उनलाई विदेश जान रोक लगाएको छ । तर सन्दीप विदेश गएको तथ्यसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो तथ्य प्रमाणित भएमा धरौटीमा छाड्ने आदेश खारेज हुने पनि उच्च अदालतको आदेशमा उल्लेख छ ।
यस्तै लामिछानेले विचाराधीन यो मुद्दाको बारेमा कुनै टीकाटिप्पणी गरेको प्रमाणसहित जाहेरीकर्ता किशोरी वा उनको परिवारको सदस्य वा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदन व्यहोरा प्रमाणित भएमा पनि आदेश खारेज हुनसक्नेछ ।
सन्दीप आफैंले वा उनका आफन्तले किशोरी र उनका आफन्त र परिवारसँग सम्पर्क गरेमा र उनीहरुलाई कुनै डर, त्रास, धम्की वा दबाव दिएमा वा प्रलोभनमा पारेमा पनि आदेश खारेज हुने उच्च अदालत पाटनले भनेको छ ।
अदालतको आदेश विपरीत सन्दीपले काठमाडौं उपत्यका छाडेको प्रमाणसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा निवेदन दिएमा र सो निवेदनको व्यहोरा विश्वसनीय देखिएमा पनि सन्दीपलाई धरौटीमा छाड्ने आदेश खारेज हुनसक्ने उच्च अदालत पाटनको आदेशमा उल्लेख छ ।