काठमाण्डु।
सन् २०२२को सुरुवात देखि नै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेड बीचको सम्बन्ध चर्चामा रह्यो। सन् २०२२-२३ को सिजन सुरु हुनु भन्दा अगाडी नै रोनाल्डोले क्लब छाड्न चाहेका थिए। तर ठूला क्लबले खासै चासो नदेखाउँदा रोनाल्डो युनाइटेडमै अड्किन बाध्य भएका थिए।
रोनाल्डो ढिला गरी क्लबमा सामेल भए। सिजन क्रमश अगाडी बढ्दा पनि उनी र युनाइटेड बीचको सम्बन्धमा सुधार देखिएन। नयाँ प्रशिक्षक एरिक टेन ह्यागसँग उनको खास राम्रो सम्बन्ध रहन सकेन।
टेन ह्यागले रोनाल्डोलाई बेन्चमा राख्न हिच्किचाएनन्। प्रिमियर लिगमा टेन ह्यागले रोनाल्डोलाई कमै मात्र मौका दिए। एक अन्तर्वार्ताका क्रममा युनाइटेडका प्रशिक्षक देखि मालिक सम्म माथि प्रहार गरेपछि त रोनाल्डो र युनाइटेड बीचको सम्बन्ध झनै बिग्रियो।
पछि दुई पक्ष बीचको आपसी समझदारीमा सम्झौता रद्द गरियो। त्यसपछि रोनाल्डोले केहि समय क्लब बिहिन हुनु पर्यो। युनाइटेडसँगको सम्झौता रद्द भएपछि धेरैले रोनाल्डो युरोपकै कुनै एक क्लबमा जान्छन् होला भन्ने सोचेका थिए।
तर सन् २०२२ को अन्तिममा रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भए। रोनाल्डो अल नासरमा आवद्ध भएसँगै चर्चित फिफा २३ रेटिङमा कमी आएको छ। चर्चित फुटबल गेम फिफा २३ मा रोनाल्डोको रेटिङ घटेको हो।
स्पोर्ट बाइबलले रिपोर्ट गरेअनुसार पाँच पटकको बालोन डी’ओर विजेताको फिफा २३ रेटिङ अहिले ८८ मा झरेको छ। रोनाल्डो लामो समयदेखि फिफा गेममा सबैभन्दा उच्च रेटिङ रहेका खेलाडी रहँदै आएका छन्।
पोर्चुगिज सुपरस्टारले सन् २००३ मा फिफा ४ मा ८० को रेटिङका साथ फिफा गेम डेब्यू गरेका थिए। फिफा ६ मा, उनले ९१ को रेटिङ प्राप्त गर्दै पहिलो पटक ९० क्लबमा इन्ट्री मारेका थिए।
फिफा १७ मा उनी उत्कृष्ट खेलाडी बनेका थिए। त्यसबेला रोनाल्डोले ९४ रेटिङ पाएका थिए। फिफा १९ मा लियोनल मेस्सीसँग बराबरी गर्नुअघि उनले फिफा १८ मा सबै भन्दा बढी रेटिङ पाएका थिए। फिफा १९ पछि भने रोनाल्डोको रेटिङ घट्दै आएको छ। हरेक वर्ष उनको रेटिङ एक अंकले घटिरहेको छ।
विश्वकपमा कम्जोर प्रदर्शन गरेका रोनाल्डो केहि समय अगाडी सम्म क्लब बिहिन थिए। साउदी क्लब अल नासरमा आवद्ध भएसँगै उनको रेटिङ ९० भन्दा तल झरेको छ।