काठमाडौं ।
गृहमन्त्री रवि लामिछानेले नेपाल टी २० लिगमाथि ब्यापक फिक्सिङ्ग र सट्टेबाजी भएको चर्चा चुलिएपछि छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन् ।
गृहमन्त्री रविले मंगलबार सिआइबीलाई जारी नेपाल टी २० लिगमा फिक्सिङ्ग र सट्टेबाजी भएको आशंका बढेपछि छानविन गर्न निर्देशन दिएका हुन् । पछिल्लो समय राष्ट्रिय टोलिका पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले पनि बुकिहरुले आफ्नो टोलिका केही खेलाडीहरुलाई फिक्सिङ्गको अफर आएको खुलासा गरेपछि जारी लिगमा थप आशंका पैदा भएको हो ।
म्याच फिक्सिङ बारे भावुक हुँदै सामाजिक सञ्जालमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का लेख्छन् “नेपाल क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थ्यो। यो अनवरत यात्रा र उतारचडावकै बीच Nepal T-20 League मा SPOT FIXING जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको बर्षौं देखिको लगाव , खेलप्रेमीहरुको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेल संग सम्बंधित सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाइ कडा कारवाही गरियोस ।”
लिगमा वान एक्स बेटले वान एक्स ब्याट्को नामले प्रायोजन गरिरहेको छ भने विभिन्न क्लबका मालिकहरुमाथि पनि शंका उत्पन्न भइरहेको छ । मंगलरबार बिहानको खेलमा उपस्थित हुनुपर्ने खेलाडीहरुले पाउनुपर्ने पारिश्रमिक नपाएसम्म मैदानमा नउत्रने भनेपछि खेल समेत अवरुद्ध हुन पुगेको थियो ।
केही बेरको अन्यौलतापछि क्यान पदाधिकारीले पारिश्रमिकमा समस्या नहुने भनेपछि खेल सूचारु भएको थियो । क्यानसँग जारी लिगको लागि स्ट्राटेजिक पार्टनरको रुपमा रहेको सेभेन थ्री स्पोर्टस्का मालिक समेत बेपत्ता भएका छन् ।
यसबारेमा क्यान अध्यक्षले नै बोलेपछि नेपाल टी २० लिगमा समस्या रहेको पुष्टि समेत भएको छ । अर्काेतर्फ लिगका लागि आबद्ध भएको विभिन्न विदेशी खेलाडीहरु पारिवारिक समस्या देखाउँदै आ आफ्नो देश फर्किनुले पनि लिगमाथि आशंका शुरु भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी पहिलो संस्करणको नेपाल टी २० लिगमा लिगमा लुम्बिनी अल स्टार्स, काठमाण्डू नाइट्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किङ्गस् र र फार वेस्ट युनाईटेड गरी ६ टोलिको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिनको आधारमा जारी लिगको फाईनल खेल पुष २७ गते हुनेछ ।लिगको विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख, तेस्रोले १० तथा चौथोले ५ लाख नगद पुरस्कार पाउने क्यानले जनाएको छ ।
यसैगरी प्लेयर अफ द सिरिजले ५ लाख पाउनेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ्ग प्लेयरले १ लाख ८० हजार पाउने छ ।