काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले नेपाल टी-२० क्रिकेट लिगमा फिक्सिङ भएको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।
खेलाडीहरुले नै फिक्सिङका लागि ‘अप्रोच’ भएको बताएपछि गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको सीआईबीका एक अधिकृतले बताए । ‘अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन’, ती अधिकृतले भने ।
सीआईबीको टोलीले बेटिङ गरिरहेको आशंकामा जारी प्रतियोगिताबाटै केही दर्शकलाई नियन्त्रणमा लिएर स्थानीय प्रहरीको जिम्मा लगाएको थियो । तर, फिक्सिङको सम्बन्धमा कुनै प्रमाण फेला पर्न नसकेको सीआईबी स्रोत बताउँछ ।
काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आज रातिसम्ममा सबै समस्या समाधान हुने आशा व्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको यो प्रतियोगिता अन्तर्गत आज काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल सुरुहुनु अघि खेलाडीहरुले विरोध गरेका थिए ।
खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै विरोध गरेपछि निर्धारित समयमा सुरु हुन सकेको थिएन् ।पछि खेलाडीहरुको पारिश्रमिक आज रातिसम्म प्रदान गर्ने ग्यारेन्टी फ्रेन्चाइज टिमबाट भएपछि खेलाडीहरु मैदानमा उत्रिएका थिए । त्यसपछि खेल ९ ओभरमा झारिएको थियो ।
जसमा काठमाडौं नाइट्स ३४ रनले विजयी भएको छ । खेलपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान मल्लले आज राति सम्ममा समस्या समाधान हुने बताए । आफ्नो टिमका कुनै पनि खेलाडीले पारिश्रमिक नपाएको पनि जानकारी दिए ।
पत्रकारले म्याच फिक्सिङ भएको छ, भनि जिज्ञाषा राख्दा कप्तान मल्लले आफूले फिक्सिङ नै भएको भन्न नसक्ने बताउँदै कुनै ठाउँबाट टिमको एक खेलाडीमा एप्रोच गरेको प्रष्टिकरण दिए । त्यसपछि टिमले त्यो विषयमा सेटल गरेको बताए । आफूले टिम मालिकहरुसँग छलफल गर्न नपाएको पनि बताए ।
यस्तै, विराटनगरका कप्तान रोहित पौडेलले भोलिसम्म पुरै पारिश्रमिक प्राप्त गर्ने सहमति भएपछि आफूहरुले प्रतियोगिता खेलेको बताए । टिम मालिकहरुसँग छलफल नहुँदा आजको अवस्था आएको पनि पौडेलले बताए ।