काठमाडौं ।
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी २० लिगको दौरान खेल आचारसंहिता उल्लङ्घन गरेको भन्दै केहि खेलाडी र म्यानेजरलाई जरिवाना लगाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी लिगको दौरान खेल आचारसंहिता उल्लङ्घन गर्ने केहि खेलाडी र म्यानेजरलाई जरिवाना लगाइएको जानकारी गराएको हो ।
क्यानका अनुसार पोखरा एभेन्जर्सका विदेशी खेलाडी उपुल थरङ्गालाई लुम्बिनी अल स्टार्सविरुद्धको लिगको ७ औं खेलमा आचारसंहिताको लेभल २ उल्लङ्घन गरेको भन्दै खेल शुल्कको शतप्रतिशत (३ डिमेरिट अंकसहित) जरिवाना गरिएको छ ।
उपुलले आचार संहिताको धारा २.८ को उल्लङ्घन गरेको र जुन अम्पायरको निर्णयमा असहमति देखाउनेसँग सम्बन्धित रहेका बताइएको छ। उनले अम्पायरसँग आफ्नो निर्णयमा टिप्पणी गर्दै आएको बताइएको छ । यससँगै उपुलले आफ्नो गल्ती र म्याच रेफ्रीले प्रस्ताव गरेको सजाय समेत स्वीकार गरेको क्यानले जानाएको छ।
यस्तै फार वेस्ट युनाइटेडविरुद्धको लिगको नवौं खेलमा आचारसंहिताको लेभल १ को उल्लङ्घन गरेको भन्दै लुम्बिनी अल स्टार्सका खेलाडी गुल्सन कुमार झालाई खेल शुल्कको २० प्रतिशत (१ डिमेरिट अंकसहित) जरिवाना गरिएको छ ।
गुलसनले आचार संहिताको धारा २.६ को उल्लङ्घन गरेको बताइएको छ । जुन खेलको समयमा अश्लील र आपत्तिजनक इशारा प्रयोग गर्ने सम्बन्धमा पर्छ। उनले विपक्षीलाई अपमानजनक इशारा गरेको आरोप र म्याच रेफ्रीले प्रस्ताव गरेको सजाय स्वीकार गरेका छन्।
त्यस्तै फार वेस्ट युनाइटेडका खेलाडी देव खनाललाई पनि जरिवाना लगाइएको छ । उनले काठमाडौं नाइट्सविरुद्धको लिगको पाँचौं खेलमा आचारसंहिताको लेभल १ उल्लङ्घन गरेको भन्दै (१ डिमेरिट पोइन्टसहित) जरिवाना गरिएको हो ।
क्यानका अनुसार देवले क्रिकेट उपकरणको दुरुपयोगसँग सम्बन्धित आचार संहिताको धारा २.२ को उल्लंघन गरेको र उनले खेल दौरान मैदानबाट आउट भएपछि खेल सामग्रीका लात हानेको पाइएको छ ।
यसैगरी क्यानले पोखरा एभेन्जर्सका म्यानेजर किरण शमशेर जबरालाई पनि जरिवाना लगाएको छ । पोखराका म्यानेजर किरणले लिगको सातौं खेलमा लुम्बिनी अल स्टार्सविरुद्धको खेलमा आचारसंहिताको लेभल १ उल्लङ्घन गरेको भन्दै म्याच शुल्कको ५० प्रतिशत जरिवाना लगाइएको हो ।
क्यानले जनाएर अनुसार किरणले आचार संहिताको धारा २.७ को उल्लङ्घन गरेको हो । जुन सामाजिक सञ्जालमा म्याच अफिसियलको निर्णयको टिप्पणीसँग सम्बन्धित छ। उनले आफूप्रति लागेको आरोप म्याच रेफ्री मोहम्मद शफिक (समिर खान) द्वारा प्रस्तावित सजाय स्वीकार गरेको क्यानले जनाएको छ । -merokhel.com बाट साभार