काठमाडौं।
नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो ।
भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो ।खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १-० को अग्रता बनाएको थियो ।
खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाईन्।त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३-० को जित दिलाईन् ।
यस अघि हिजो भएको खेलमा नेपालले घरेलु मैदानमा आयोजना भईरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी हासिल गरेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् ।पहिलो हाफ भारी वर्षाले खेल प्रभावित गरेको थियो ।तर, खेलको १२ औं मिनेटमा अमिषा कार्कीको पासमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
त्यसअघि ११ औं मिनेटमा हिरा कुमारी भुजेलको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाट प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो ।खेलको ६८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालले २-० को अग्रता बनायो ।खेलको ७३ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाईन् ।
त्यसपछि खेलको ८५ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-० गोलको जित दिलाईन् ।अनिता खेलको वुमन्स अफ द म्याच चुनिईन् ।भुटानविरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरे । दिपा शाही, अमिषा कार्की र समिक्षा घिमिरेले राष्ट्रिय टोलीमा डेब्यु गरिन् ।
मिडफिल्डर दिपा र फरवार्ड अमिषाले सुरुआती-११ मा पर्दै डेब्यु गरे । समिक्षा भने ७४ औं मिनेटमा सरु लिम्बुको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेकी हुन् ।यस जितसँगै समूह ‘बी’ को नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ । भुटानले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।प्तियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।