काठमाडौं।
क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज बिहान पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम–१६ को खेलसँगै क्वाटरफाइनलमा पुग्ने ८ वटा टोलीको टुंगो लागेको हो ।पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।
मंगलबार भएको नकआउट चरणको खेलमा स्पेनमाथि पेनाल्टी सुटआउटमा ३-०को जित निकाल्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो ।यस पटक कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।
अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिबार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिबार राति पौने १ बजे खेल्नेछन् । क्वाटरफाइनलको अन्तिम खेलमा आइतबार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।
दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई पछि पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो।खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो। उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो।
पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। यससँगै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
आज बिहान भएको खेलमा स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।
यस्तै गएराति भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्याे । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियो ।