काठमाडौं।
नेपालले आज तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा केन्याविरूद्ध टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ।नैरोवीमा खेल आज दिउँसो १२ः४५ बजे सुरु हुँदैछ ।केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३–२ ले जितेको नेपाल यो सिरिज पनि जित्ने दाउँमा छ ।
रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिँदै छ । नियमित कप्तान सन्दीप लामिछाने क्यारेवियन लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएको हुँदा रोहित पौडेलको कप्तानीमा पहिलो पटक टिमले केन्याविरुद्ध खेल्न लागेको हो ।
रोहित पौडेलको कप्तानीमा नेपाली टिमले पहिलो एक दिवसीय सिरिज पनि जित्दै केन्या भ्रमण लाभदायक बनाउने प्रयासमा नेपाली टोली रहनेछ।नेपालको केन्याविरुद्धको एकदिवसीय सिरिज आधिकारिक अन्तर्राष्ट्रिय सिरिज भने हुने छैन ।
किनकी केन्यासँग आईसीसीको एकदिवसीय मान्यता छैन । केन्याले सन् १९९६ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको थियो । सन् २०१४ को क्रिकेट विश्वकप छनोटमा पराजित हुँदै पाँचौं स्थानमा पर्नु अघि १८ वर्षसम्म एकदिवसीय मान्यता केन्यासँग थियो ।
यसअघि भएको टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा केन्यासँग नेपाल १८ रनले हारेको थियो । तेस्रो खेलमा चार विकेटको जित निकालेको नेपाल चौथो खेलमा भने सात रनले पराजित भएको थियो ।अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले सिरिज जितेको थियो ।
यस्तै नेपाल केन्याको बिचको एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण पनि हुने भएको छ । नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, भीयूस्पोर्ट् (VUSPORT), आईसीसी टीभी र WILLOW बाट पनि खेलको लाइभ हेर्न पाइनेछ ।एकदिवसीय सिरिजमा नेपालले केन्यासँग दोस्रो खेल १८ र अन्तिम खेल २० गते खेल्नेछ ।
आज अर्जुन साउदले एक दिवसीय खेलमा पनि डेब्यु गरेका छन्।यसै सिरिज अन्तर गत अर्जुनले टि२० खेल पनि नेपालका लागि डेब्यु गरेका थिए।
नेपालको प्लेईङ-११
अर्जुन साउद (विकेट किपर),पवन ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल(कप्तान),दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी, साहब आलम, र बसिर अहमद