काठमाडौं।
घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो ।
केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।
यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।
केन्याका भिराज पटेल र युगिनी ओचिङले २/२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
नेपालको जीतबारे भारतीय चर्चित अनलाईन मिडिया स्पोर्ट्सकिडा लेख्छ “केन्याका ब्याट्सम्यानको सानदार इनिङ्स गयो खेर, नेपालको रोमाञ्चक जित” ।
स्पोर्ट्सकिडा थप लेख्छ ” पाँच खेलको तेस्रो टी–२० क्रिकेटमा नेपालले आयोजक केन्यालाई चार विकेटले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको छ । पहिले खेलेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
जसको जवाफमा नेपालले अन्तिम ओभरमा ६ विकेट गुमाएर तीन बल बाँकी रहँदै जित निकालेको थियो । ४६ रनको पारी खेलेका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए ।
लक्ष्यको जवाफमा नेपालले पावरप्लेको ६ ओभरमा ५३/१ रन बनाएको थियो । ज्ञानेन्द्र मल्लले अर्जुन साउद (३५) सँग दोस्रो विकेटका लागि ४२ रन र चौथो विकेटका लागि रोहित पोडेल (२९) सँग ५४ रनको महत्वपूर्ण साझेदारी गरे ।
मोहम्मद आदिल आलमले ७ बलमा १६ रन बनाएर टोलीको जित सुनिश्चित गरे । व्राज पटेलले चार ओभरमा २२ रन दिएर २ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
दुई टोलीबीचको टी–२० सिरिजको चौथो खेल २९ अगस्ट र पाँचौं खेल ३० अगस्टमा हुनेछ । टी–२० सिरिजपछि सेप्टेम्बर २, ३ र ५ मा तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।”