काठमाडौं।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ ।
पाँच खेलको सिरिजमा नेपाल र केन्या १-१ को अवस्थामा रहेको छ ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।तर, शुक्रबार भएको दोस्रो खेलमा केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
घरेलु टिम केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो।आरिफ शेखले एक चौका र एक छक्का सहित २१ बलमा २५ रनको योगदान दिएका थिए।नेपालले सुरुवाती खबर गरेको थियो।नेपालका ओपनर पवन सराफले २६ बलमा १९ रनको योगदान दिएका थिए।
नेपाली टिमको उपकप्तान रोहित पौडेलले २५ बलमा २ चौका सहित २० रनको योगदान दिएका थिए। आदिल अनसारीले १३ बलमा एक चौका र एक छक्का सहित २० रनको योगदान दिए। बलिङमा केन्याका बुन्डी र लुकासले २-२ विकेट लिन सफल भए।
त्यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले पहिले ब्याटिङ गरेको घरेलु टिम केन्याले ९ विकेटको क्षतिमा १३२ रन जोड्यो। केन्याका ओबुया ९ रनमा आउट भए। केन्याका राखेप पटेलले ३५ रनको योगदान दिए। इर्फान करिमले २२ रनको योगदान दिए।
सचिन भुडियाले १४ रन जोडे। नेहेमियाह ओधिम्बोले २० बलमा ३१ रनको योगदान दिएका थिए। बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए।
दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए।करण केसीले दुई विकेट लिए। पवन सराफले एक विकेट लिए। यसअघि नेपालले बिहीबार भएको पहिलो टी-२० खेलमा केन्यालाई ५ विकेटले पराजित गरेको थियो।
आज नेपालले दोस्रो खेलमा भएका गल्तीलाई सुधार गर्ने र जितको लागि खेल्ने छ ।यसको लागि नेपालले आज आफ्नो प्लेइङ ११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ।आज नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको ठाउँमा आज देव खनाललाई मौका दिने सम्भावना रहेको छ।
नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा जारी सिरिजमा मल्लले दुई खेलमा ३४ बलमा २४ रन मात्र बनाए। पहिलो सिरिजमा ३० बलमा २३ रन बनाएका मल्ल दोस्रो खेलमा भने १ रनमै समेटिन पुगे। यी दुवै खेलमा मुख्य प्रशिक्षक मनोजले पछिल्लो समय उत्कृष्ट लयमा रहेका युवा ब्याटर देव खनाललाई बेञ्चमा राख्दै मल्ललाई मौका दिएका थिए। तर, आज देवले मौका पाउने सम्भावना रहेको छ।
आज नेपालले बासिर अहमदको स्थानमा किशोर महतोले मौका पाउने सम्भावना रहेको छ। बासिरले डेब्यू खेलमा २ ओभरमा १९ रन दिएका थिए।
नेपाल र केन्याबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
नेपालको सम्भावित प्लेइङ ११
पवन सर्राफ, आसिफ शेख (विकेटकिपर), देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, किशोर महतो, बासिर अहमद, करण केसी सोमपाल कामी र सन्दीप लामिछाने (कप्तान)