काठमाडौँ ।
केन्याविरुद्धको टी २० शृंखलाअन्तर्गत दोस्रो टी २० खेलमा घरेलु टिमले नेपाललाई पराजित गरेको छ । घरेलु टिम केन्याले नेपालसामु एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो जसको जवाफमा नेपालले १९ ओभर खेल्दै सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।
केन्यासँग हारेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले केन्याले आज राम्रो खेलेको बताए।‘आज केन्याले निकै राम्रो बलिङ गरेको छ।आज केन्याले नेपाली खेलाडीलाई खुलेर खेल्ने दिएनन्।अब नेपालले आजको खेलबाट बाँकी खेलमा ध्यान दिनु पर्ने छ।सानो लक्ष्यमा पनि छिटो विकेट गुमाउँदै हार भयो।अब आउने खेलमा थप बलियो र नयाँ ऊर्जाको साथ मैदानमा उत्रिने छौं ।’ सन्दीप लामिछाने।
यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १-१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०/२० रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए ।
केन्याका इमानुएल बुन्डी र भिराज पटेलले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।
केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए । इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए ।
करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए । अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।