काठमाडौं।
भारत र पाकिस्तानले आगामी ५ वर्षसम्म कुनै द्विपक्षीय क्रिकेट सिरिज नखेल्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको सन् २०२३ देखि २०२७ सम्मका लागि पुरुष क्रिकेटको एफटीपी (फ्युचर टुर प्रोग्राम)मा भारत र पाकिस्तानले द्विपक्षीय क्रिकेट सिरिज खेल्ने तालिका छैन।
२०२३ देखि २०२७ मा पुरुष टोलीहरूले कुल ७७७ अन्तर्राष्ट्रिय खेलहरू खेल्नेछन्। जसमा १७३ टेस्ट, २८१ एकदिवसीय र ३२३ टी–२० खेल समावेश छन्।
यी सबै खेलहरूमा आईसीसी इभेन्ट, द्विपक्षीय सिरिज र त्रिदेशीय सिरिज पनि हुने उल्लेख छ। तर, भारत र पाकिस्तानबीच कुनै द्विपक्षीय सिरिज खेलिने छैन। पाकिस्तानले आगामी ५ वर्षको एफटीपीमा आईसीसीका १२ सदस्य राष्ट्रमध्ये १० विरुद्ध द्विपक्षीय सिरिज खेल्नेछ।
पाकिस्तानले ४ वर्षको अवधिमा २७ टेस्ट, ४७ एकदिवसीय र ५६ टी–२० खेल्नेछ। यस अवधिमा पाकिस्तानले अस्ट्रेलिया, अफगानिस्तान, आयरल्यान्ड र जिम्बाब्वेलाई अतिथ्य गर्ने छ।
पाकिस्तानले २०२३ को एसिया कप पनि आयोजना गर्नेछ। यसबाहेक पाकिस्तानी टोलीले घरेलु मैदानमा दक्षिण अफ्रिका र न्यूजिल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ।
यो पनि पढ्नुहोस्; कप्तान सन्दीपको टि २० वरीयतामा सुधार
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी-ट्वान्टीको बलिङ वरीयतामा सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका छन् ।
बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन् ।ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् ।कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४२ औं स्थानमा यथावत रहेका छन् ।
अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत रहेका छन् ।एकदिवसीयतर्फ सन्दीप ३४ औं स्थानमा यथावत रहेका छन् ।सोमपाल कामी ९४ र करण केसी ९५ औं स्थानमा झरेका छन् ।
एकदिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख १०० औं स्थानमा यथावत रहेका छन् ।नेपालको एकदिवसीय वरीयता १९ औं स्थानमा रहदा टी-ट्वान्टीतर्फ १४ औं स्थान रहेको छ ।