काठमाडौं।
फरवार्ड दर्शन गुरुङका लागि फुटबल नसा थियो । फुटबल नै सबै थोक हो भन्ने लाग्थ्यो उनलाई । तर, किन फुटबलमै भविष्य देखेका दर्शन राष्ट्रिय टिमलाई चटक्कै छाडेर अस्ट्रेलिया उडे ? यी अनुत्तरित प्रश्न हुन्, यसको जवाफ न सरकारसँग छ, न एन्फासँग ।
त्यसबेला उनको त्यो भनाइमा पीडासँगै चिन्ता मिसिएको थियो । नेपाली खेलाडी खेल्दाखेल्दै आफूजस्तै छोडेर विदेशिनु नपरोस् । एन्फाले फुटबल गतिविधिलाई चलायमान बनाओस्, खेलाडी खेलेरै बाँच्ने आधार बनोस् भन्ने उनको तात्पर्य थियो । तर राम्रा मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एलन न्यौपानेजस्ता खेलाडी गुमाएको देशले त्यसपछि कुनै संयन्त्र बनाएन, जसले खेलाडी खुसीका साथ निर्धक्क भएर स्वदेशमै खेलुन् ।
फलस्वरुप विदेशिने खेलाडीको सिलसिला रोकिएन । दर्शनसँगै राष्ट्रिय टिमबाट खेलिरहेका सन्तोष तामाङ, आशिष लामा, सुमन लामा, हेमन्त थापामगर, विमल राना, नवीन गुरुङ केही समयअघि मात्रै अस्ट्रेलिया पुगे । युवा स्टार दर्शन विदेशिएका एक प्रतिनिधि खेलाडी हुन् । छोटो समयमा नै नेपाली फुटबलमा राम्रो छाप छाड्न सफल दर्शनले सायद सोचेका थिएनन्, एक दिन राष्ट्रिय टिम छोडेर विदेशिन्छु भनेर ।
दर्शनका लागि फुटबल नसा थियो, अनि राष्ट्रिय टिमबाट खेल्ने सपना । सबैले सपना त देखेकै हुन्छन् । कतिको पूरा हुँदैन, कतिको हुन्छ । आफूले बनाएको लक्ष्य पूरा भयो भएन, त्यो उसले गरेको परिश्रम र लगनशीलताले महत्त्व राख्छ । दर्शन गुरुङ यस्ता खेलाडी हुन्, जसले आफ्नो लक्ष्य पूरा गरे तर जिन्दगी अन्धकार देखे । त्यसपछि राष्ट्रिय टिमबाट खेलेको छोटो समयमा नै बिट मारे । यो निर्णय उनलाई गर्न त्यति सजिलो भने पक्कै भएन ।
फुटबलमा भविष्य छ, राम्रो गर्छु भनेर आएका उनी भविष्य नभएको बताउँछन् । भन्छन्, ‘भविष्य नदेखेर म अस्ट्रेलिया आएँ । लिग नियमित छैन । खेलहरू हुँदैन । क्लबले पैसा दिँदैन । ६ महिनाका लागि अनुबन्धित गरेको हुन्छ तर ३–४ महिनाको मात्रै तलब दिन्छ ।’
दर्शनलाई फुटबल खेलेर केही हुँदैन भन्ने लागेको भए उनी यसरी दिनरात गरेर खेलाडी बन्ने चाहना पहिल्यै तुहाउँथे । उनको मात्रै हैन, नेपाली खेलकुदमा लागेका सयौँ खेलाडीको सपना टुटेको छ । नयाँ पिँढी खेलकुदमा लाग्नै मान्दैन । धेरै अभिभावक त नेपाली खेलाडीको अवस्था देखेर छोराछोरीले खेल्न खोज्दाखोज्दै पनि यो क्षेत्रमा ल्याउन नचाहने भएका छन् । यस पछिको कारण के त ?
दर्शन मात्रै हैन, नाम चलेका त्यस्ता धेरै खेलाडी छन्, जो खेल्दाखेल्दै देश छोडेर गएका छन् । ओलम्पिक्स खेलेकादेखि दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका खेलाडीसम्म खेल्दाखेल्दै विदेसिएको तितो सत्य छ । यी सबै खेलाडी नेपाली खेलकुदमा भविष्य नदेखेरै बाहिरिएका हुन् ।
‘जब मैले फुटबल बुझेँ फुटबलमै केही गर्छु भन्ने थियो । तर त्यो अहिले रहेन । परिवार छ । परिवारको जिम्मेवारी पनि पूरा गर्नुपर्याे । नेपालमा फुटबल खेलेर परिवारका लागि केही गर्न सक्दिनँ भने त्यहाँ अल्झेर म किन बस्ने ?,’ गम्भीर हुँदै दर्शन भन्छन् ।
दर्शन भन्छन्, ‘म विदेशिएर एकदम ठीक गरेँ । अझै धेरै फुटबल खेलेर ५–६ वर्षपछि छोड्नुपरेको भए मलाई गाह्रो हुने थियो होला । तर, छिट्टै छोडेकोमा खुसी नै छु । खेलाडी दाइहरूले पनि ठीक गर्यौ भन्नुहुन्छ ।’
टिम मात्रै हैन, देशलाई नै छोडेर जाँदा नेपाली फुटबलको धेरै याद आउँछ होला नि भन्ने प्रश्नमा दर्शन भन्छन्, ‘फुटबलमै भविष्य देखेको थिएँ । तर, अहिले फुटबलमै भविष्य रहेनछ भन्न मलाई गाह्रो भइरहेको छ । राष्ट्रिय टिमबाट खेलिरहने कसको लक्ष्य हुँदैन तर परिस्थिति नै यस्तो छ नेपाली फुटबलको । सम्झना त आइरहन्छ सधैँ तर सम्झेर के गर्नु ?’
राष्ट्रिय टिमबाट खेल्दाको क्षण उनी कहिल्यै बिर्सन सक्दैनन् । ‘फुटबल बुझेपछि राष्ट्रिय टिमबाट खेल्ने धोको थियो ।जुन सपना पूरा भयो।’ न्युज शिलापत्रमा सरोज तामाङको लेखबाट