काठमाडौं ।
नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवशीयका लागि नेपालले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । यस टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।
नेपालका लागि यू–१९ का विकेट किपर अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यूएई सिरिज पछि नेपालको कुनै पनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आएसँगै टोलीमा पुनरागमन गरेका छन् ।
उनीसँगै साह आलम र विवेक यादवले पनि टिममा पुनरगामन गरेका छन् । अर्जुनले उमेर समूह अन्र्तगत यू–१९ एसिया कप खेलेका हुन् ।
त्यस्तै नेपाली टोलीका रेगुलर ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी यस पटक टोलीमा परेका छैनन् । वैकल्पिक खेलाडीमा थप चार खेलाडी गरी क्यानले २० जनाको नाम सार्वजनिक गरेको हो ।
नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ ।
नेपाली टोलीका खेलाडी : सन्दीप लामीछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउद, साहब आलम, किशोर महतो र विवेक यादव
वैकल्पिक खेलाडी : प्रतिश जिसी, हरिशंकर साह, जितेन्द्र मुखिया र भीम सार्की
नेपालले यही अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्दैछ । क्यानले हिजो मात्रै मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर यसै साता नेपाल आईपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रसान्त विक्रम मल्लले मुख्य प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आईपुग्ने जानकारी दिए ।
प्रकृया मिलाउन बाकीँ रहेकाले प्रशिक्षक आउन समय लाग्ने मल्लले बताए । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । प्रभाकरसँग एक वर्षे सम्झौता भएको मल्लले बताए ।
‘नयाँ जिम्मेवारीका साथ प्रभाकर नेपाल आउदै हुनुहुन्छ,’ मल्लले बताए, ‘नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।’