काठमाडौ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।
ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो ।ईमिरेट्स क्रिकेट बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको छ ।
प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार्की खेलाडीको रुपमा जोडिएका छन् । जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन, एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।
प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ।प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।
यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ ।प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।
यो पनि पढ्नुहोस्; नेपालमा कहिले आईपुग्छन त मुख्य प्रशिक्षक मनोज प्रभाकर?
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर यसै साता नेपाल आईपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रसान्त विक्रम मल्लले मुख्य प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आईपुग्ने जानकारी दिए ।
प्रकृया मिलाउन बाकीँ रहेकाले प्रशिक्षक आउन समय लाग्ने मल्लले बताए । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । प्रभाकरसँग एक वर्षे सम्झौता भएको मल्लले बताए ।
‘नयाँ जिम्मेवारीका साथ प्रभाकर नेपाल आउदै हुनुहुन्छ,’ मल्लले बताए, ‘नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।’
प्रभाकरले १२ वर्ष भारतीय क्रिकेट टोलीबाट खेलेका थिए । सन् १९८४ बाट १९९६ सम्म उनले भारतको सिनियर राष्ट्रिय टोलीबाट एकदिवशीय र टेस्ट क्रिकेट खेलेका थिए । त्यसबीचमा उनले ३९ टेस्ट खेल्दै एक शतक र ९ अर्धकशतक बनाएका थिए भने ९६ विकेट हात पारेका थिए ।
यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ३० खेल खेल्दै २ शतक र ११ अर्धशतक बनाएका छन् भने एक सय ५७ विकेट हात पारेका छन् । उनी भारतीय टोलीका ओपनिङ बलर र ओपनिङ ब्याट्सम्यान थिए ।
प्रभाकरले दिल्ली क्रिकेट टिमको बलिङ कोच र राजस्थान क्रिकेट टोलीको प्रमुख प्रशिक्षक भएर काम गरेका छन् । सन् २०११ मा व्यवस्थापन र टिमविरुद्ध मिडियामा बोलेको भन्दै दिल्लीले उनलाई बर्खास्त गरेको थियो ।
सन् २०१५ को डिसेम्बरमा उनी अफगानिस्तानको बलिङ कोच नियुक्त भएका थिए। भारतमै आयोजित टी—२० विश्वकपमा उनी अफगानिस्तानको बलिङ कोच रहेका थिए।
नेपालले विश्वकै महाशक्ति क्रिकेट राष्ट्रको छिमेकी भएर पनि अपेक्षित फाइदा लिन नसकिरहेको टिप्पणी भइरहँदा प्रभाकरको उपस्थितिले नेपाली क्रिकेटलाई खास गरी दुई वटा फाइदा हुन सक्ने छ ।
पहिलो भारतका बलिया घरेलु टोलीसँग नियमित खेल्ने र दोस्रो व्यावसायिक प्रतियोगितामा सहभागिताका लागि बाटो सजिलो बनाउने। एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएर पनि नेपालले भारतका प्रदेश स्तरका टोलीसँग समेत अभ्यास खेलहरू खेल्ने वातावरण मिलाउन सकेको छैन ।
नेपालले अभ्यास खेलका नाममा श्रीलंका पुगेर खेल्ने गरे पनि आफूभन्दा कमजोर टोलीसँग खेलेकाले फाइदा नपुग्ने टिप्पणी हुँदै आइरहेको छ। अर्को फाइदा भनेको इन्डियन प्रिमियर लिग—आईपीएल क्रिकेटमा नेपाली क्रिकेटलाई बन्द भएको ढोका फेरी खोल्ने रहेको छ ।
आईपीएल खेल्ने एक मात्र खेलाडीका रूपमा सन्दीप लामिछाने रहेका छन् । तर गत वर्ष भएको मेगा अक्सनमा सन्दीप छनोट भएनन् ।