काठमाडौँ।
एसिया कप-२०२२ का लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ । सोमबार भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
जिम्बाब्वे भ्रमणमा नअटाएका खेलाडीसमेत टोलीमा अटाएका छन् । उक्त टोलीको कप्तानी भने रोहित शर्माले गर्नेछन् । ब्याटरहरू विराट कोहली र केएल राहुलले टिममा कमब्याक गरेका छन् भने बलरहरू जसप्रित बुमराह र हर्षल पटेल भने चोटका कारण टिमबाहिर छन् ।
‘जसप्रित बुमराह र हर्षल पटेल चोटका कारण छनोटमा परेनन्,’ बोर्डले ट्विटरमा भनेको छ, ‘उनीहरू अहिले बेंगलुरुस्थित एनसीएमा स्वास्थ्यलाभ गरिरहेका छन् ।’ बोर्डका अनुसार श्रेयस अय्यर, अक्षर पटेल र दीपक चहरलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।
वेस्ट इन्डिज भ्रमणमा राम्रो प्रदर्शन गरेका अर्शदीप सिंहले टोलीमा स्थान बनाउन सफल भएका छन् । पूर्वकप्तान कोहली पछिल्लो पटक इंग्ल्यान्ड भ्रमणमा रहेका थिए । त्यसपछि उनलाई वेस्ट इन्डिज भ्रमणमा आराम दिइएको थियो ।
त्यस्तै जिम्बाब्वेविरुद्धको आगामी शृंखलामा समेत उनी परेका छैनन् । एसिया कप आगामी अगस्ट २७ देखि यूएईमा सुरु हुनेछ । अगस्ट २८ मा समूह चरणमै भारतले चीर प्रतिद्वन्द्वी टिम पाकिस्तानको सामना गर्नेछ ।
वेस्ट इन्डिज भ्रमणका लागि विराट कोहलीलाई विश्राम दिइएको थियो । केएल राहुल पूर्ण फिट नभएका कारण वेस्ट इन्डिज भ्रमणमा खेलेका छैनन् । यी दुईको आगमनसँगै टीम इण्डिया अहिले बलियो देखिएको छ ।
एसिया कपमा भारतीय टोलीले कस्तो रणनीति अपनाउने त्यो भने हेर्न बाँकी छ । रोहित शर्मा, सूर्यकुमार यादव, दीपक हुडा, हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट फर्ममा देखिएका छन् । टीम इन्डियाबाट फ्यानहरूले धेरै आशा राखेका छन्।
यस्तो छ भारतीय टिम
रोहित शर्मा(कप्तान), केएल राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, दीपक हुडा, दिनेश कार्तिक, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, आर अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह, आवेश खान