काठमाडौ।
डिफेन्डर रन्जित धिमालले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कारण खेलाडीहरु मानसिक रुपमा थकित भएको आरोप लगाएका छन् ।
धिमालले शनिबार सामाजिक संजाल फेसबुकबाट प्रशिक्षक अलमुताईरीको कारण खेलाडीहरु मानसिक रुपमा थाकेको बताएका छन् ।
मुख्य प्रशिक्षक अलमुताईरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई आग्रह गर्दै फेसबुकमा स्टाटस लेखेपछि धिमालले फेसबुकबाटै उक्त कुरा बताएका हुन् ।
‘पहिले पनि राम्रो फुटबल गतिविधि भएन तर खेलाडीले यसरी विदेश पलायन रोजेनन् । तर तपाईको हर्कत पनि खेलाडी विदेशिनुको अर्को प्रमुख कारण हो । यो त हामी पनि चाहन्छौँ कि फुटबल गतिविधि होस् । तर अहिले त नयाँ खेलाडी पनि सुरक्षित भविष्यको लागि विदेश रोजिरहेका छन् । यो समयमा खेलाडीहरू शारीरिक रूपमा हैन मानसिक रूपमा थकित छन् । तितो सत्य यही हो,’ उनले लेखेका छन् ।
अलमुताईरीले नेपाल सुपर लिगको आयोजना रोक्न खोजेको समेत धिमालले लेखेका छन् ।
‘तपाई नेपालको फुटबल गतिविधिको कुरा गर्दै हुनुहुन्छ । वाह, तपाईलाई लाज लाग्दैन ? तपाई कति झुट बोल्न चाहानुहुन्छ ? एनएसएल रोक्न खोज्ने तपाई नै होइन ? हामी सबैलाई यो घटना याद छ । जब एन्फाले एनएसएल गर्न चाहन्थ्यो । तपाइँलाई २ हप्ताको लागि प्रशिक्षण योजना पछाडि धकेल्न भन्यो । तर तपाईले सबै खेलाडीहरूलाई कोठामा बोलाएर व्यक्तिगत रूपमा उनीहरूलाई धम्की दिनुभयो,’ उनले त्यसअघि लेखेका छन् ।
अलमुताईरीले खेलाडीलाई धम्क्याउने गरेको आरोप धिमालले लगाएका छन् ।
‘तिमिहरु एनएसएल खेल्न चाहन्छौ कि अलमुताईरीको टोलीबाट खेल्न चाहन्छौ ? रंजितले लेखेका छन्, ‘सबै खेलाडी चुप लागे र कसैले एनएसएलको लागि आवाज उठाउन सकेनन् । पछि आफै तपाईले पोस्ट लेखेर जनताको ध्यान खिच्ने प्रयास गर्नुभयो । र, एनएसएल हुनुपर्छ भन्ने चाहना भएको जस्तो नाटक गर्नुभयो।’
यो पनि पढ्नुहोस्; खेलाडीहरू अस्ट्रेलिया पलायन भए पछि मुख्य प्रशिक्षक अल्मुताइरीले गरे सरकारलाई ठूलो अनुरोध
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इंगित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् ।
‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु, अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले खेलकुदको भविष्य जोगाउन सरोकारवाला निकायहरूले ५ देखि ७ जनाको टिम नै बनाएर समस्या समाधानको विषयमा सोच्नु पर्ने बताए । ‘नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै रोडम्याप बनाउन खेलकुद मन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई विनम्र अनुरोध गर्दछु,’ अल्मुताइरीले लेखेका छन् ।