काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक २/३ दिन भित्रमा नै नियुक्त गर्ने बताएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमणअघि नै नेपाललाई प्रशिक्षक चाहिएकाले छिट्टै नियुक्त गरिने बताए ।
उनले भने, ‘हामीलाई जति सक्दो छिटो प्रशिक्षक चाहिएकोले २/३ दिन भित्र नै प्रशिक्षकको टुङ्गो लगाउने क्यानको तयारी रहेको छ ।’
उनका अनुसार यसअघि पुबुदु दाशानाइके नियुक्त हुँदा बैकल्पिकमा रहेका भनिएका मध्येबाट मात्रै नभई नयाँ व्यक्ति नै प्रशिक्षक बनेर आउने सक्ने उनले बताएका हुन् ।
उनले भने, ‘पहिलाको सर्टलिष्टबाट नै आउँछ भन्ने छैन । त्यो भन्दा राम्रो प्रशिक्षक अझ छिटो उपलब्ध हुने भएमा अन्य पनि हामी अनुबन्ध गर्न सक्छौं ।’ यसका साथै उनले नेपालले केन्याले प्रस्ताव गरेको सिरिजप्रति पनि सकरात्मक प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘सम्पूर्ण तयारी पूरा भइ सकेको छ । अब क्यानले आधिकारीक निर्णय सार्वजनिक गर्न भने बाँकी नै छ ।’ पुबुदु राजीनामा दिएर क्यानडा फर्के लगत्तै नेपाली क्रिकेट टिम प्रशिक्षक विहीन छ ।
यो पनि पढ्नुहोस : अफ्रिकाको टिमले १२-० ले जित्यो टी-२० सिरिज, बनायो अनौठो उपलब्धि
मोजाम्बिकका पुरुष र महिला टोलीहरूले २९ देखि ३१ जुलाईसम्म ६–६ टि-२० अन्तर्राष्ट्रिय खेलका लागि इस्वातिनी (स्वाजिल्यान्ड) भ्रमण गरे र सबै खेलहरू जितेका थिए। मोजाम्बिकका पुरुष र महिला टोलीहरूले इस्वातिनीलाई टि-२० शृङ्खलामा ६-०/६-० ले हराए र उनीहरूको भ्रमणको स्कोर १२-० भएको थियो।
पुरुष टी-२० सिरिजमा २९ जुलाईमा मोजाम्बिकले पहिलो र दोस्रो खेलमा इस्वाटिनीलाई ८ विकेट र ७ विकेटले पराजित गरेको थियो। ३० जुलाईमा मोजाम्बिकले तेस्रो खेल ८ विकेटले र चौथो खेल ९५ रनले जित्यो।
३१ जुलाईमा मोजाम्बिक टोलीले ९४ रन र ४३ रनको जितसँगै इस्वातिनीलाई क्लिन सिप गर्यो। २९ जुलाईमा महिला टी–२० सिरिजमा मोजाम्बिकले इस्वातिनीलाई १२८ रन र ९ विकेटले पराजित गरेको थियो।
३० जुलाईमा मोजाम्बिकले तेस्रो खेलमा १०५ रन र चौथो खेलमा १०७ रनले एकतर्फी जित हासिल गरेको थियो। ३१ जुलाईमा मोजाम्बिक महिला टोलीले इस्वातिनीलाई ३ विकेट र ७ विकेटले हराउँदै क्लिंनसिप गरेको थियो।
पुरुष टी–२० सिरिजमा मोजाम्बिकका जोसे बुलेलीले ६ खेलमा सर्वाधिक १७८ रन बनाए भने बलिङमा मोजाम्बिकका जोआओ होउले सर्वाधिक १२ विकेट लिए । शृङ्खलामा तीन अर्धशतकहरू थिए र ती सबै मोजाम्बिकको तर्फबाट आएका थिए।
जोसे बुलेका अलावा फिलिप कोसा र गोम्स गोम्सले अर्धशतक बनाए । बलिङमा मोजाम्बिकका दुई खेलाडी (जोआओ होउ र जेफानियास मात्सिन्हे) र इस्वातिनी (डेलिसा मालिंगा)का एक खेलाडीसहित तीन खेलाडीले एक इनिङमा चार विकेट लिएर कीर्तिमान बनाएका थिए।
महिला टी–२० सिरिजमा मोजाम्बिककी पाल्माइरा कुइनिकाले ६ खेलमा सर्वाधिक १६७ रन बनाएकी छन् भने बलिङमा पाल्माइरा कुइनिकासँगै मोजाम्बिककी डाल्सिया डुआनले सर्वाधिक ९–९ विकेट लिएकी छन् ।
शृङ्खलामा चार अर्धशतकहरू थिए र ती सबै मोजाम्बिकको तर्फबाट आएका थिए। पाल्माइरा कुनिका र फातिमा गुइरुगोले दुई–दुई अर्धशतक प्रहार गरे ।
बलिङमा कुनै पनि खेलाडीले एक इनिङमा चार विकेट लिने कीर्तिमान बनाएका छैनन् । तर, एक इनिङ्समा तीन विकेट लिने कीर्तिमान सात पटक र मोजाम्बिकका बलरले ६ पटक र इस्वातिनीले एक बलरले बनाएका थिए ।