काठमाडौं ।
वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजमा भारतले शानदार सुरुवात गरेको छ । भारतले पहिलो खेल ६८ रनले जितेर पाँच खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।
पहिले खेल्दै भारतले ६ विकेट गुमाएर १९० रन बनाएको थियो । जवाफमा वेष्ट इन्डिजको टोलीले ८ विकेट गुमाएर १२२ रन बनाउन सक्यो ।
रोहित शर्मासँगै सूर्यकुमार यादव ओपनिङमा आए । दुवैले पहिलो विकेटका लागि ४४ रन जोडे। यसैबीच यादवले १६ बलमा २४ रन बनाएर अगाडि आउट भए। उनीपछि श्रेयस अय्यर खाता नखोलि आउट भए ।
रोहित शर्मा एक छेउबाट ब्याटिङ गरिरहेका थिए । पन्त १४ र पाण्डे १ रन बनाएर आउट भए । रोहित शर्माले तुफानी ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे र ४४ बलमा ६४ रन बनाएर आउट भए ।
उनि पछि दिनेश कार्तिकले फिनिसिङ टच दिने काम गरे । उनले १९ बलमा नटआउट ४१ रन बनाए । भारतका कप्तान रोहित शर्मा टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।
न्युजिल्याण्डका क्रिकेटर मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा शीर्ष स्थानमा उक्लिएका हुन् । गुप्टिल केही दिन अघि मात्र शीर्ष स्थानमा उक्लिएका थिए । शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन् ।
शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन् । गुप्टिल ३ हजार ३ सय ९९ रनका साथ दोस्रो स्थानमा रहेकाछन् । विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन् ।
जवाफमा खेल्दै वेष्ट इन्डिजले पहिले काइल मेयर्सको विकेट गुमाएको थियो । उनी १५ रन बनाएर आउट भए । उनि पछि, जेसन होल्डर खाता नखोली नै आउट भए।
यहाँबाट पनि दबाब बढ्यो । यसैबीच शमराह ब्रुक्सले पनि २० रनको व्यक्तिगत स्कोरमा आउट भए । कप्तान निकोलस पूरनले पनि निराश पारे र १८ रन बनाएर आउट भए । यसरी वेस्ट इन्डिजको टोलीको विकेट लगातार झर्दै गयो र आवश्यक रन रेट बढ्दै गयो ।
अन्तमा विन्डिजले ८ विकेट गुमाएर १२२ रनको मामूली स्कोर बनाउन सक्यो। भारतका लागि रवि बिश्नोई, अश्विन र अर्शदीपले २/२ विकेट लिए ।