काठमाडौ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अब आगामी सेप्टेम्बरमा अष्ट्रेलियामा क्रिकेट खेल्ने तालिका रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौताअनुसार नेपाली टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियामा खेल खेल्ने छ।
क्यान र रोयलबीचको सम्झौताअनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराइने छ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरुको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको कम्तिमा तीन वर्षसम्म वर्षको कम्तिमा १० दिन अस्ट्रेलिया भ्रमण गर्ने सम्झौतामा उल्लेख छ ।
त्यहाँ स्थानीय टिमका साथै स्टेट टिम र अस्ट्र्ेलियाको ए टिमसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने प्रतिवद्धता रोयल हेरिटेजले गरेको क्यानका महाप्रवन्धक खनालले बताए ।
पहिलो वर्षका रुपमा हामीले सन् २०२२ भित्रै टिम पठाउनेछौं । पहिलो वर्षको मूल्यांकनका आधारमा बाँकी दुई वर्षका लागि निर्णय गर्नेछौं । त्यहाँ हाम्रो टिमको स्तरअनुसार प्रतिस्पर्धात्मक टिम भएन भने भ्रमणको अर्थ पनि रहँदैन,’ महाप्रवन्धक खनालले भने ।
रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले क्रिकेट संकृतिको हिसावमा संसारमै अग्रणी अस्ट्रेलियाको टिम र नेपाली टिमबीच प्रतिस्पर्धा गराएर सदभाव र भाइचारा बढाउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।
‘नेपाली राष्ट्रिय क्रिकेट टीम र अष्ट्रेलियाका नेपाली लगायतका क्रिकेट क्ल्बहरूबीच हरेक बर्ष अष्ट्रेलियाका बिभिन्न शहरहरूमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना हुनेछ,’
उनले भने, ‘अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट टिम मध्येबाट एक टिम बनाइने छ भने अष्ट्रेलियाको नाम चलेको क्ल्ब र टिमहरुको पनि यो मैत्रीपूर्ण खेलमा सहभागिता रहने छ ।’ उनले कुन टिमले खेल्ने भन्ने चाहीँ प्रष्ट पारेका छैनन् ।
त्यसो त नेपाली टिम जाने मिति र शहरको पनि टुंगो लागेको छैन ।’हाल नेपाली क्रिकेट टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बुधबार व्यक्तिगत कारण देखाउदै राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ ।
क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । तर, दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन् ।पुबुदु क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भईसकेका छन् ।