काठमाडौं ।
आईसिसि विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिवार त्रिकोणात्मक श्रृंखला अन्तर्गत नामिबियासँग दोस्रो खेल खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डबिरुद्ध ५ विकेट जित निकालेको नेपालले शनिवार नामिबियालाई पहिलो खेलको हारको बदला लिने लक्ष्यमा हुनेछ ।
यस अघि पहिलो खेलमा पराजित भएको नामिबियबिरुद्ध नेपालले नामिबियाले दिएको २ सय २१ रनको लक्ष्य पनि भेटाउन सकस परेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८० रन जोडेको थियो । आफ्नो दोस्रो खेलमा भने घरेलु टोलीमाथि ५ विकेट जित निकालेको थियो ।
जुन स्कटल्याण्डबिरुद्ध नेपालले कुनै पनि संरचनामा निकालेको पहिलो जित हो । घरेलु टोलीबिरुद्ध आक्रामक खेलेका आसिफ शेखले नेपाली टोलीका लागि इतिहास बनाउन महत्वपूर्ण अर्धशतकीय पारी खेलेका थिए । ७१ रनमा पवेलियन फर्किंदा नेपाल लगभग जित नजिक पुगेको थियो ।
यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।रोहित पौडेल ३४ रनमा अविजित रहदा आदील आलम सुन्य रनमा अविजित रहे ।नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए ।कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए।शनिवार नामिबियबिरुद्ध मैदान उत्रिँदा सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
नेपाल र नामिबियाबीच एकदिवसीयमा पछिल्लो भेटसँगै ६ पटक प्रतिष्पर्धा गरेका छन् । जसमा नेपालले चार पटक सुखद् नतिजा निकाल्दा नामिबियाले स्कटल्याण्ड भ्रमण अन्तर्गतको पहिलो खेलसहित दुई खेल जितेको छ । नेपालले पहिलो पटक सन २००१ मा आईसीसी ट्रफीको प्रतियोगितामा नामिबियासँग खेलेको थियो ।
क्यानडामा खेलिएको उक्त खेलमा नेपालले ८ विकेटको लज्जास्पद हार भोगेको थियो । दोस्रो पटक सन २०१५ आईसीसी लिग डिभिजन–२ मा यी दुई टोलीबीच प्रतिष्पर्धा भएको थियो । जुन भेट १४ वर्षपछि भएको थियो । त्यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । तेस्रो पटकको भेट सन् २०१५–०१७ सम्म चलेको विश्व क्रिकेट च्याम्पियनसिपमा भएको थियो ।
सन् २०१७ मा दुई खेल नेपालमा भएको थियो । नेपालले दुवै खेलमा सुखद् नतिजा निकालेको थियो । त्यसपछि २०१८ मा नामिबियामा नेपालले आतिथ्यता गरेको थियो । जहाँ नेपालले १ विकेटको रोमान्चक जित निकालेको थियो ।
श्रृंखलाको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ । ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ तालिकाको पाचौं स्थानमा छ । शनिवार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ । यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ ।