काठमाडौं।
भारतविरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्ड एक सय रनले बिजयी भएको छ । जितसँगै इंग्ल्याण्डले सिरिज एक एकको बराबरीमा पुर्याएको छ । लर्डस मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड ४९ ओभरमा अलआउट हुँदा दुई सय ४६ रन बनायो ।
राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको थियो । उसका ओपनर जेसोन रोय २३ रनमा आउट हुँदा इंग्ल्याण्डले पहिलो विकेट गुमायो । त्यसपछि जोनी ब्रस्टो ब्यक्तिगत ३८ रनमा पेभेलियन फर्किदा इंग्ल्याण्डले ७२ रनमा दोस्रो विकेट खेर फाल्यो । जोय रुटपनि ११ रनमा आउट भएपछि इंग्ल्याण्डले ८२ रनमा तेस्रो विकेट गुमायो ।
त्यसपछि इंग्ल्याण्डको स्कोर एक सय दुई रन हुँदा ५ विकेट झरेको थियो । उसका जोस बट्लर चार तथा बेन स्टोक्स २१ रनमा आउट भए । इंग्ल्याण्डका लागि लियाम लिभिङ्स्टोनले ३३ रनको योगदान गरे । त्यसपछि मोयन अली र डेविड विलीले सातौं विकेटका लागि ६२ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए ।
मोयन अली ४७ रनमा आउट हुँदा इंग्ल्याण्डले दुई सय १० रनमा सातौं विकेट गमायो । त्यसछि डेविड विलीपनि ब्यक्तिगत ४१ रनमा आउट भए । जसका कारण उसले दुई सय ३७ रनमा आठ विकेट खेर फाल्यो ।
बलिङमा भारतका लागि युज्भेन्द्र चाहलले चार विकेट लिए । यस्तै हार्दिक पाण्ड्याले दुई तथा पहिलो खेलमा ६ विकेट लिएर इंग्ल्याण्डको पारिलाई धरासायी बनाएका जसप्रित बुम्राहले पनि दुई विकेट लिए भने मोहम्मद सामीले पनि एक विकेट हात पारे ।
जवाफमा भारत ३८ ओभर पाँच बलमा एक सय ४६ रनमा अलआउट भयो । खराब प्रर्दशन गरेको भारतले चार रनमा पहिलो विकेट गुमाउँदा ३१ रन हुँदा चार विकेट खेर फालेको थियो । उसका कप्तान रोहित शर्माले खाता खोल्न सकेनन् भने शिखर धवन नौं रनमा आउट भए । यस्तै रिशब पन्तले पनि खाता खोल्न नपाउँदै आउट भए । यस्तै बिराट कोहलीपनि १६ रनमा पेभेलियन फर्किए ।
भारतको स्कोर ७३ रन हुँदा पाँचौं विकेट झर्यो । उसका शूर्यकुमार यादव २७ रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको भारत अन्ततः एक सय ४६ रनमा आउट भयो । उसका लागि हार्दिक पाण्ड्या र रबिन्द्र जडेजाले समान २९ २९ रन बनाए । यस्तै मोहम्मद शामीले २३ रन बनाए । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए । भारतको पारीलाई कमजोर पार्न टोप्लेले ६ विकेट लिए ।