काठमाडौँ।
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज सोमबार पहिलो खेल खेल्दैछ ।नेपालले सिरिजको पहिलो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु भएको हो।
नामिबियाले नेपाललाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णयसँगै नेपालले फिल्डिंगको निम्तो पाएको थियो ।नामिबियाले पहिला ब्याटिंग गर्दै ४७.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर २२० रन बनाउन सक्यो। नेपालको लागि कप्तान सन्दिप लामिछानेले सर्भाधिक ४ विकेट लिए, त्यस्तै करण के.सी,बसिर अहमद, दिपेन्द्र सिंह ऐरीले १/१ विकेट र सोमपाल कामीले २ विकेट लिए ।
मध्यम सुरुवात गरेको नामिबियाले ३१ रनमा पहिलो विकेट गुमाएको यिो । त्यसपछि ६९ रन हुँदा तीन विकेट गुमाएको उसले एक सय ४४ रन हुँदा ६ विकेट खेर फालेको थियो । नामिबियाविरुद्धको खेलबाट डेब्यु गरेका बसिर अहमद र कप्तान सन्दिप लामिछानले राम्रो प्रदर्शन गरे । नामिबियाका लागि जान निकोलले सर्वाधिक ६० रन बनाए भने डिभान ला कोकले ४१ रन जोडे ।
सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो । सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।
नेपालको प्लेइङग ११ : सन्दिप लामिछाने (कप्तान), देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख(विकेटकिपर), करण केसी, कुशल भुत्र्तेल, बसिर अहम्मद, सोमपाल कामी, र आदिल आलम अन्सारी रहेका छन् ।