काठमाडौं ।
प्रमुख प्रशिक्षक नियुक्त भएको भोलिपल्ट नेपाल क्रिकेट संघ (क्यान)ले भदौ दोस्रो सातादेखि सुरु हुने केन्यासँगको शृंखलाका लागि राष्ट्रिय टिमको घोषणा गर्दा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।
एकदिवशीय विश्वकप छनोटको प्रारम्भिक चरण र एकदिवशीय मान्यता कायम राख्नका लागि महत्वपूर्ण आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पछिल्ला दुई शृंखलामा ज्ञानेन्द्रको कमी महशुस गरेको क्यानले आगामी प्रतियोगितामा टिमको आत्मविश्वास फर्काउने प्रयास गरेको छ ।
नेपालले लिग टू अन्तर्गत अमेरिका र स्कटल्याण्ड भ्रमणमा मध्यक्रमले इनिङ्स होल्ड गर्न नसक्दा नेपालले हार बेहोर्नुपरेको थियो । नयाँ र युवा खेलाडीलाई पर्याप्त अवसर दिइएको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा सन्दीप लामिछानेको कप्तानीमै प्रश्न उठ्न थालेको थियो ।
कप्तानबाट निकालिएपछि टिमबाट पनि टाढिएका ज्ञानेन्द्रको पुनरागमनले सन्दीपलाई कप्तानका रुपमा सहयोग पुग्ने अपेक्षा क्यानको छ । अनुभवी खेलाडी नहुँदा सन्दीप लामिछाने कप्तानका रुपमा सफल हुन नसकिरहेका बेला उनको आगमन अर्थपूर्ण छ ।
स्कटल्याण्डबाट फर्किएपछि क्यान व्यवस्थापनले पनि यो तथ्य महशुस गरी ज्ञानेन्द्रलाई फकाउन केन्द्रित थियो । क्रिकेट म्यानेजर विनोद दासलगायत क्यान पदाधिकारीले ज्ञानेन्द्रलाई भेटेर टिममा फर्काउने प्रयास गरेका थिए ।
ज्ञानेन्द्रको पुनरागमन हुँदा अर्का अनुभवी विनोद भण्डारी यसपल्ट टिमबाट बाहिरिएका छन् । पछिल्लो लयका आधारमा ओपन ब्याटर कुशल भुर्तेललाई विश्राम दिँदा शीर्षक्रममा ज्ञानेन्द्रमाथि टिम निर्भर हुनेछ ।
राष्ट्रिय टिमका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले कुशल ड्रप भएपछि अनुभवी खेलाडीको आधारमा टिममा ल्याइएको बताए । ‘शीर्षक्रम बलियो बनाउन ज्ञानेन्द्रलाई टिममा राखिएको हो । ज्ञानेन्द्रलाई ओपनर वा तेस्रो नम्बरमा प्रयोग गर्न सकिनेछ,’ उनले भने ।
पूर्व राष्ट्रिय खेलाडी चौधरी राम्रो प्रदर्शन गर्ने जो कोहिलाई राष्ट्रिय टिमको ढोका सधैं खुला रहेको बताउँदै आएका छन् । नयाँ प्रशिक्षक आगमन भएकोले पनि टिममा परिवर्तन देखिएको छ । तर, क्यानको पछिल्लो टिम छनोटमा प्रशिक्षकको भूमिका छैन ।
यसअघि ज्ञानेन्द्र टिममा नहुँदा यू–१९ टिमका पूर्वकप्तान देव खनालले तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका थिए । कुशल नहुँदा अब आसिफ शेखसँग ज्ञानेन्द्र वा देव मध्ये एकले ओपनिङ गर्ने सम्भावना छ ।
ज्ञानेन्द्रले यसअघि राष्ट्रिय टिममा ओपनिङ गरिसकेका छन् । ज्ञानेन्द्रले ओपनरको भूमिकामा खेले देवले तेस्रो नम्बरमै ब्याटिङ गर्न सक्छन् । पहिलो पटक राष्ट्रिय टिममा परेका अर्जुन साउद मध्यक्रममा राम्रो विकल्प बन्न सक्छन् ।
केन्यामा नेपालले एकदिवशीय र टी-२० दुवै फर्म्याटमा खेल्ने भएकाले प्रशिक्षकले आवश्यकताअनुसार परिवर्तन गराउन सक्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टिमले अर्को महनिा केन्या भ्रमण गर्दैछ ।
भदौ ९ देखि २० गतेसम्म हुने पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । तीबाहेक चारजना बैकल्पिक खेलाडी पनि छन् ।
यू १९ टिमका विकेटकिपर ब्याटर अर्जनु साउदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । स्पिनर शाहब आलम र अलराउण्डर विवेक यादवले पनि टिममा पुनरागमन गर्दा स्कटल्याण्डमा लिग टू शृंखला खेलेको टिममा रहेका कुशल र विनोदलाई विश्राम दिइएको छ ।
प्रमुख छनोटकर्ता चौधरीले पछिल्लो प्रदर्शनका आधार र नयाँलाई अवसर दिने उद्देश्यले टिम बनाएको बताए । ‘केही नयाँ खेलाडीलाई पनि अवसर दिने उद्देश्यसहित उत्कृष्ट खेलाडीहरु छनोट गरिएको छ,’ चौधरीले भने ।
उनले पछिल्लो लयका कारण कुशललाई विश्राम दिइएको बताए । ‘अमेरिका, क्यानडा र स्कटल्याण्डमा गरेको प्रदर्शनलाई आधार मानेर नै उनलाई टिम बाहिर राखिएको हो,’ उनले थपे । कुशलले अमेरिकामा भएको लिग टूमा ओमानविरुद्ध एक खेलमा ५६ रन बनाए पनि अन्य खेलमा प्रदर्शन एकरुपको थिएन ।