काठमाडौ।
नेपाली मिडफिल्डर रोहित चन्दले विश्व चर्चिच ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग फुटबल खेल्न पाउनु ठूलो अनुभव रहेको प्रतिक्रिया दिएका छन्।केही दिनअघि इन्डोनेसियन क्लब पेर्सिक केडिरी एफसीले रोनाल्डिन्होसहितको टोली रेन्स नुसनतारा एफसीलाई हराउँदै ‘ट्रोफियो रोनाल्डिन्हो’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।
‘महान् फुटबलर रोनाल्डिन्होसँग एकै मैदानमा खेल्न पाउनु एक अनौठो अनुभव हो। मैले कहिल्यै सोचेकै थिइनँ, यस्तो पनि होला भनेर। उनले मैदानमा गर्ने जादु हेरेर हुर्किएको, उनीसँगै खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्य हो’, चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।मालाङस्थित कान्जुरुहान स्टेडियममा गत आइतबार भएको मैत्रीपूर्ण प्रतियोगितामा आफ्नो दुई खेलमा नै सफलता हात पार्दै पेर्सिकले उपाधि जित्न सफल भएको थियो।
पेर्सिकले पहिलो खेलमा ब्राजिलियन लेजेन्ड रोनाल्डिन्हो सम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो।नेपाली मिडफिल्डर रोहितले रेन्स नुसनतारा एफसीविरुद्ध पहिलो रोजाइमा खेलेका थिए। चर्चित इन्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनालिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको रेन्स नुसनतारा एफसी यसै सिजन इन्डोनेसियाको दोस्रो डिभिजन लिगबाट शीर्ष डिभिजनमा बढुवा भएको हो।
त्यसैको खुशियालीमा क्लबका मालिकद्वयले आफ्ना समर्थकहरुलाई सरप्राईज दिने लक्ष्यसहित गत मार्चको अन्तिमतिर बालोन डि’ओरसँगै ब्राजिलका लागि विश्वकप, कोपा अमेरिका कपसँगै क्लब फुटबलबाट थुप्रै उपाधि जितिसकेका लेजेन्ड रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए।
त्यही वाचाअनुसार रोनाल्डिन्हो रेन्स नुसनतारा एफसीबाट एक खेल खेल्न सहमत भएका थिए। ४२ वर्षीय रोनाल्डिन्होले क्लब फुटबलमा बार्सिलोना, पिएसजी र एसी मिलान जस्ता चर्चित क्लबबाट व्यवसायिक खेल पस्कदै आफ्नो कला देखाइसकेका छन्।