काठमाडौँ ।
इंग्ल्याण्डविरुद्ध शानदार ब्याटिङ गर्दै ऋषभ पन्तले महेन्द्र सिंह धोनीको १७ वर्ष पुरानो रेकर्ड तोडेका छन् । भारतीय विकेटकिपरका रूपमा टेस्ट क्रिकेटमा उनले सबैभन्दा तीव्र गतिमा शतक बनाएका हुन् । २८ ओभरमा भारत ५ विकेटको क्षतिमा ९८ रनको खराब स्थितिमा रहेका बेला ब्याटिङ गर्न आएका पन्तले १ सय ११ बलमा शानदार १ सय ४६ रन बनाउँदै भारतको संकटमोचन गरेका हुन् ।
५१ बलमा अर्धशतक पुरा गरेका पन्तले ८९ बलमा शतक पुरा गरे । करिब ३ घण्टा ब्याटिङ गरेका पन्तले १९ चौका र ४ छक्का हिर्काए । पन्तको शतकको मद्दतले भारतले पहिलो दिनको खेल समाप्त हुँदा ७ विकेटको क्षतिमा ३३८ रन बनाएको छ । रवीन्द्र जडेजा ८३ रनमा नटआउट रहेका छन् । इंग्ल्याण्डका लागि जेम्स एन्डरसनले ३ विकेट लिए भने म्याथ्यु पोट्सले २ विकेट लिए । बेन स्टोक्स र जो रुटले १–१ विकेट लिए ।
ऋषभ पन्तको इंग्ल्याण्डको भूमिमा यो दोस्रो टेस्ट शतक हो। यसअघि ऋषभ पन्तले सन् २०१८ मा इङ्ल्यान्डविरुद्ध ओभलमा ११४ रन बनाएर आफ्नो टेस्ट करियरको पहिलो शतक बनाएका थिए। ऋषभ पन्तले आफ्नो पाँचौं टेस्ट शतक प्रहार गर्दै टीम इन्डियाको इनिङ्सलाई जीवनदान दिए। यो शतक पनि विशेष छ किनकि बर्मिङ्घमको यो कठिन पिचमा ब्याट्सम्यानका लागि शतक बनाउनु दोहोरो शतक भन्दा कम होइन ।
ऋषभ पन्त इंग्ल्याण्डको भूमिमा दुई टेस्ट शतक बनाउने पहिलो भारतीय विकेटकिपर ब्याट्सम्यान हुन्। भारतीय पूर्व कप्तान तथा अनुभवी विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले आफ्नो पुरा टेस्ट करियरमा पनि यस्तो उपलब्धि गर्न सकेनन् । ऋषभ पन्त दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अष्ट्रेलियामा तीनै देशमा टेस्ट शतक बनाउने पहिलो भारतीय विकेटकिपर ब्याट्सम्यान हुन्।
ऋषभ पन्त भन्दा पहिले, कुनै पनि भारतीय विकेटकिपर ब्याट्सम्यानले इंग्ल्याण्डको भूमिमा टेस्ट शतक बनाउन सकेनन्। भारतका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले पनि आफ्नो सम्पूर्ण टेस्ट करियरमा इंग्ल्याण्डको भूमिमा टेस्ट शतक बनाउन असफल भएका छन् ।