काठमाडौं।
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार्सबर्गलाई हराएको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले २-१ गोलअन्तरको जित निकालेको हो।
खेलको १४ औं मिनेटमा नेइमारले फ्रिकिकमा प्रहार गरेको बललाई हेडरमार्फत गोल गर्दै मार्क्विन्होसले पीएसजीलाई अग्रता दिलाउँदा घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा मार्क्विन्होसले नै आत्मघाती गोल गर्न पुगे।
उनले ५१ औं मिनेटमा आत्मघाती गोल गर्दा खेल बराबरीमा फर्कियो। खेलको ६२ औं मिनेटमा दोहोरो पहेँलो कार्ड ब्यहोरेका नेइमार बाहिरिँदा पीएसजीलाई जित दिलाउन किलियन एम्बाप्पेले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।
जितसँगै पीएसजीले शीर्षस्थानमा अग्रता फराकिलो पार्दै लगेको छ। १६ खेलबाट ४४ अंक जोड्दै पीएसजी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको लेन्सले १५ खेलबाट ३६ अंक जोडेको छ। स्टार्सबर्ग भने ११ अंक जोडेर तालिकाको १९ औं स्थानमा छ।
यो पनि : पिएसजीमा कहिले फर्किदैछन् मेस्सी?
कतारमा सम्पन्न विश्वकप फुटबलमा उपविजेता बनेको फ्रान्सका स्टार स्ट्राइकर तथा गोल्डेन बुट विजेता केलियन एमबाप्पे क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा फर्किसकेका छन् ।
विश्वकपपछि बुधबार सुरु हुने फ्रेन्च लिगमा पहिलो दिनमै पीएसजीले प्रतिस्पर्धा गर्दैछ । तर, पीएसजीका अर्का प्रभावशाली स्ट्राइकर लियोनल मेस्सी भने क्लब फर्किएका छैनन् । उनी परिवारसँग रमाइरहेका छन् ।
स्पेनिस अखबार मार्काका अनुसार पीएसजीले खेल्ने अबका कम्तीमा तीन खेल मेस्सीले खेल्नेछैनन् । मेस्सी नयाँ वर्ष परिवारसँग मनाएरमात्र पीएसजी फर्कने तयारीमा छन् । एमबाप्पेकै टोली फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा हराएर मेस्सी नेतृत्वको अर्जेन्टिना विश्व विजेता बनेको थियो ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्दा मेस्सीले पनि विश्व च्याम्पियन सपना पूरा गरेका थिए । प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी पनि बन्न सफल भएका थिए ।
मार्काका अनुसार जनवरी ११ तारिखमा हुने पीएसजीको खेलदेखि मात्र मेस्सी टोलीमा मिसिने सम्भावना छ । त्यसअघि पीएसजीले जनवरी १ र ६ तारिखमा पनि खेल्नेछ ।
मेस्सीको हालसालैमात्र परिवारसँग क्रिसमस मनाएको तस्विर सार्वजनिक भएको थियो । मेस्सी पीएसजीसँगको सम्झौता एक वर्ष लम्ब्याउने तयारीमा छन् । उनको चालू सम्झौता सन् २०२३ मा सकिँदैछ ।