काठमाडौँ ।
फिफा विश्वकप २०२२ को विजेता टिम भएपछि अर्जेन्टिनाको तिनतारे जर्सीले नयाँ रेकर्ड बनाएको छ । तिन पटक विश्वकप फुटबल विजेता बनेपछि अर्जेन्टिनाको ‘तिन तारे जर्सी’ सार्वजनिक गरेको क्षणभरमै ‘सोल्ड आउट’ भएपछि नयाँ रेकर्ड बनेको हो ।
अर्जेन्टिनाको आधिकारिक जर्सी निर्माता कम्पनी एडिडासले केही दिन अघि तिन तारे नयाँ जर्सी सार्वजनिक गर्ने घोषणा गरेको थियो।
कतारमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन बनेपछि अर्जेन्टिनाका लागि एडिडासले ‘तिन तारे जर्सी’ बनाएको थियो ।
घोषणा अनुरुप एडिडासले २२ डिसेम्बरमा अर्जेन्टिनाको नयाँ तीन तारे जर्सी अनलाइन बिक्रिका लागि राखेको थियो। एडिडासको अर्जेन्टिनी संस्करणको वेबसाइटमा बिक्रिमा राखिएको नयाँ जर्सी क्षणभरमै ‘सोल्ड आउट’ भएको हो।
तीन तारे जर्सीको पहिलो ब्याच अर्जेन्टिनाबाटै बिक्रि गर्ने निर्णय गरेको एडिडासले अकल्पनीय रेकर्ड कायम गर्दै त्यति छिटो जर्सी बिक्री गरेको हो। उक्त कम्पनीले युरोपमा भने यहि २८ तारिखमा सो जर्सी सार्वजनिक गर्दैछ ।
त्यसपछि सर्वाधिक विक्रि हुने जर्सी हुन सक्ने आकलन गरिएको छ । युरोपमा बिक्रीका लागि जर्सी उत्पादन नसक्दै अर्जेन्टिनामा राखिएको जर्सी क्षणभरमै सकिएपछि एडिडास अहिले धमाधम दोस्रो ब्याच उत्पादन थालेको छ।
युरोपको बिक्री सकेर अर्जेन्टिनाका लागि दोस्रो ब्याच पनि छिटै उत्पादन सकेर बिक्रिमा राखिने एडिडासले जनाएको छ ।
यो पनि : पिएसजीमा कहिले फर्किदैछन् मेस्सी?
कतारमा सम्पन्न विश्वकप फुटबलमा उपविजेता बनेको फ्रान्सका स्टार स्ट्राइकर तथा गोल्डेन बुट विजेता केलियन एमबाप्पे क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा फर्किसकेका छन् ।
विश्वकपपछि बुधबार सुरु हुने फ्रेन्च लिगमा पहिलो दिनमै पीएसजीले प्रतिस्पर्धा गर्दैछ । तर, पीएसजीका अर्का प्रभावशाली स्ट्राइकर लियोनल मेस्सी भने क्लब फर्किएका छैनन् । उनी परिवारसँग रमाइरहेका छन् ।
स्पेनिस अखबार मार्काका अनुसार पीएसजीले खेल्ने अबका कम्तीमा तीन खेल मेस्सीले खेल्नेछैनन् । मेस्सी नयाँ वर्ष परिवारसँग मनाएरमात्र पीएसजी फर्कने तयारीमा छन् । एमबाप्पेकै टोली फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा हराएर मेस्सी नेतृत्वको अर्जेन्टिना विश्व विजेता बनेको थियो ।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जित्दा मेस्सीले पनि विश्व च्याम्पियन सपना पूरा गरेका थिए । प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी पनि बन्न सफल भएका थिए ।
मार्काका अनुसार जनवरी ११ तारिखमा हुने पीएसजीको खेलदेखि मात्र मेस्सी टोलीमा मिसिने सम्भावना छ । त्यसअघि पीएसजीले जनवरी १ र ६ तारिखमा पनि खेल्नेछ ।
मेस्सीको हालसालैमात्र परिवारसँग क्रिसमस मनाएको तस्विर सार्वजनिक भएको थियो । मेस्सी पीएसजीसँगको सम्झौता एक वर्ष लम्ब्याउने तयारीमा छन् । उनको चालू सम्झौता सन् २०२३ मा सकिँदैछ ।