काठमाडौं ।
आजबाट सुरु भएको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सले १ सय ६३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा विकेट गुमाएर १ सय ६२ रन बनाएयो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले अविजित ८५ रनको योगदान गरे ।
यस्तै सुनाम गौतम अविजित २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा लिग विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपैयाँ पाउने जनाएको छ ।
यसैगरी, तेस्रो स्थानकाले १० लाख र चौथो हुनेले पाँच लाख पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानले समान दुई लाख ५० हजार प्राप्त गर्नेछन् ।
यस्तै, इमर्जिङ प्लेयरले एक लाख ४० हजार र प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्नेछन् । कीर्तिपुर मैदानमा शनिबार हुने उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।