काठमाडौँ ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपको ट्रफी आफ्नो व्यावसायिक क्लब पीएसजीको घरेलु मैदानमा प्रदर्शन गर्ने इच्छा व्यक्त गरेका छन्।
गोल डटकमका अनुसार मेस्सीले क्लबसँग पीएसजीका समर्थकहरुका लागि विश्वकपको ट्रफी क्लबको घरेलु मैदानमा प्रदर्शन गर्न अनुमति मागेका हुन्।
यद्यपि क्लबले उनलाई प्रदर्शनको लागि अनुमति दिने वा नदिने भन्ने विषयमा कुनै निर्णय भने दिइसकेको छैन। फाइनलमा हार बेहोरेका फ्रान्स टोलीका मुख्य खेलाडी एम्बापे पनि पीएसजी क्लबमा छन्, त्यसो गर्दा एम्बापेलाई ठेस भने अबश्य पुग्नेछ ।
मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका हुन्। पीएसजीको एक प्रमुख खेलाडीको रुपमा रहेका मेस्सीको लागि यो पहिलो विश्वकपको उपाधि हो।
यद्यपि क्लबका मालिकको लागि मेस्सीको चाहना पूरा गर्नु त्यति सजिलो भने छैन। अर्जेन्टिनाले यसपटकको विश्वकप फाइनलमा फ्रान्सलाई नै पेनाल्टीसुटमा ४–२ले हराएको थियो।
त्यसैले पनि फ्रान्सेली क्लबले मेस्सीलाई विश्वकपको ट्रफी समर्थकलाई देखाउने अनुमति नदिन सक्छ। त्यतिमात्र होइन फाइनल खेलमा ह्याट्रिक गर्ने फ्रान्सका केलियन एम्बाप्पे पनि पीएसजीको टोलीका अर्का मुख्य स्ट्राइकर हुन्।
कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।
त्यसैले विश्वकपको ट्रफी क्लबका समर्थकलाई देखाउँदा टोलीका खेलाडीहरुबीचको सम्बन्धमा फाटो आउन सक्ने आशंकाको कारण पनि क्लबले मेस्सीलाई यो अनुमति नदिन सक्ने समाचारमा उल्लेख छ।
सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीएसजीका फरवार्ड समेत रहेका लिओनल मेस्सीले ७ गोल गरी कतार विश्व कपमा गोल्डेन बल जिते ।
फ्रान्सको लिग वानका खेलहरु अर्को हप्तादेखि सुरु हुँदैछन् । पीएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आउँदो बुधवार स्ट्रार्सबर्गसँग खेल्दैछ ।